
काभ्रेपलाञ्चोक। धुलिखेल अस्पतालमा निर्माण हुन गइरहेको ट्रामा तथा आपतकालीन सेवा केन्द्रको शिलान्यास समारोहको पूर्वसन्ध्यामा एक औपचारिक पत्रकार सम्मेलन सम्पन्न भयो। कार्यक्रममा अस्पताल प्रशासनले नयाँ केन्द्रले क्षेत्रीय आपतकालीन स्वास्थ्य सेवामा ल्याउने गुणात्मक सुधारबारे जानकारी गराउँदै यसले जीवनरक्षात्मक उपचार सेवामा पहुँच वृद्धि गर्ने अपेक्षा व्यक्त गर्यो। अस्पतालका प्रमुख पदाधिकारीहरू र अन्य सरोकारवालाहरूले केन्द्रको आवश्यकता, उद्देश्य र भावी कार्ययोजनाबारे प्रस्ट पार्दै, यो परियोजना स्वास्थ्य पूर्वाधार विकासको दिशामा महत्त्वपूर्ण कदम हुने बताएका छन्।
धुलिखेल अस्पतालमा जापान सरकारको ३.८७९ अर्ब जापानी येन सहयोगमा १०० शैयाको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण तयारी अन्तिम चरणमा पुगेको छ। यस केन्द्रको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बुधबार गर्ने कार्यक्रम तय भएको छ। जापान सरकारको पूर्ण सहयोग तथा स्वास्थ्य मन्त्रालयको निगरानीमा जापानी कम्पनी टोडा को–अपरेसन, टोकियोले निर्माण कार्यको जिम्मेवारी पाएको छ।
यो परियोजना सन् २०२७ भित्र सम्पन्न गरी धुलिखेल अस्पताललाई हस्तान्तरण गरिनेछ। ट्रमा सेन्टरमा अत्याधुनिक उपकरणहरू जस्तै सिटी स्क्यान, एमआरआई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेसिन र १०० शैयासहितका सुविधा उपलब्ध गराइनेछ।
धुलिखेल अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो केन्द्र ट्रमा सेवाको कोषेढुङ्गा बन्ने बताए। अस्पतालका डा. दिपक श्रेष्ठका अनुसार, यो केन्द्रले काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर लगायतका जिल्लाका साथै वीपी राजमार्गले जोड्ने तराईका जिल्लाका गम्भीर घाइते तथा आकस्मिक बिरामीहरूलाई तत्काल सेवा उपलब्ध गराउने छ।
नेपालमा सडक दुर्घटनाबाट हुने मृत्यु दर बढ्दो क्रममा रहेको र २० देखि ४० वर्ष उमेर समूहमा सडक दुर्घटना प्रमुख मृत्यु कारण रहेको तथ्याङ्क प्रस्तुत गर्दै डा. श्रेष्ठले समयमै उपचार सुविधा उपलब्ध गराउनु आवश्यक रहेको बताए।
यो परियोजना सन् २०१४ देखि विभिन्न अध्ययन, संवाद र समन्वयपछि नेपाल सरकार र जापान सरकारबीच भएको सम्झौताको परिणामस्वरूप अघि बढेको हो। जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (JICA) नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा अप्रिल २०२५ मा टोडा कम्पनीलाई निर्माण कार्यको लागि चयन गरि प्रारम्भिक काम शुरु गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे