
इटहरी । कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
बुधबार दिउँसो ३ बजे इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा अवार्ड कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको आयोजकले जनाएको छ ।
प्रदेश खबरका अध्यक्ष पवन अधिकारीका अनुसार १३ विधाका उत्कृष्ट व्यक्तिहरूलाई अवार्ड प्रदान गरिनेछ । कृषि, बैंकिङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि तथा स्टार्टअप विधामा अवार्ड प्रदान गरिनेछ । निर्णायक समितिले सिफारिस गरेका आधारमा विजयीहरूको छनोट गरिएको अधिकारीले जानकारी दिए ।
कार्यक्रमले पर्यटन प्रवर्द्धनसँगै कोशी प्रदेशमा सक्रिय योगदान दिइरहेका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । अवार्ड वितरणसँगै विभिन्न क्षेत्रमा योगदान पुर्याएका १२ जना व्यक्ति तथा संस्थालाई पनि सम्मान प्रदान गरिने अधिकारीले बताएका छन् ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा रहनेछन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालकी प्रथम महिला मुख्य सचिव लीलादेवी गड्तौला तथा उच्च सरकारी पदाधिकारीहरू समेतको उपस्थिति रहनेछ ।
नेपाल टेलिभिजन इटहरी च्यानल, विराट टेलिभिजन, सप्तकोसी टेलिभिजन, एरिना टेलिभिजन तथा प्रदेश खबरको आधिकारिक वेबसाइट र फेसबुक पेजमार्फत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे