
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् ।
‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको छ, हाम्रो नेपाल कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा पर्ने त होइन ? भन्ने चिन्ता थपिएको छ, यसबाट हामी सजग हुनुपर्छ ।’
हाल, नेपाल नेतृत्वको दलसमेत गठबन्धन सरकारमा सहभागी छ । आफ्नै दल सम्मिलित सरकारले ‘राष्ट्रियता बलियो बनाउन नसकेको’ भन्दै उनले चिन्तासमेत व्यक्त गरे । असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्नेमा जोड दि“दै उनले ‘हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने’ आवश्यकता पनि औंल्याए ।
भ्रष्टाचार व्यापक मौलाएको भन्दै नेता नेपालले ‘नेपालको अर्थतन्त्र र राजनीतिमा दलाल शक्ति हावी हुनेक्रम बढ्दो’ रहेको पनि सुनाए । ‘भ्रष्टाचार व्यापक मौलाएको छ, पार्टीहरूमा पनि भ्रष्ट प्रवृत्ति देखिएको छ, । त्यसको असर हाम्रो पंक्तिमा पनि पर्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पार्टीको ध्यान आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन केन्द्रित हुनुपर्छ ।’
अध्यक्ष नेपालले चुनावमा अधिकतम सफलता हासिल गर्नेगरी वातावरण बनाउनुपर्नेमा जोड दि“दै प्रत्येक कार्यकर्ता जनताका घरदैलोमा पुग्नुपर्ने बताए । आगामी कात्तिक वा मंसिरमा चुनाव हुने भन्दै उनले ‘अब समय धेरै नभएकाले सबैले निर्वाचनमा केन्द्रित हुनुपर्ने’ बताए । जनताका समस्या, गाउँ र सहरका समस्या’bout अध्ययन गरेर जनताका पक्षमा काम गर्नेगरी केन्द्रीय मन्त्री, मुख्यमन्त्रीसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि लाग्नुपर्ने नेपालको जोड छ ।
केन्द्रीय परिषद् बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बैठकमा समाजवादीका देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनाव समीक्षा, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावलक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।
यसैगरी, केन्द्रीय कमिटीमा पेस राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशा’bout प्रतिवेदनमा उल्लेख छ ।
देशभरबाट करिब १ हजार ५ सय सहभागी परिषद् बैठकमा विभिन्न ११ समूह गठन गरी समूहगत छलफल जारी छ । छलफलपश्चात् समूह नेताले बैठकमा निष्कर्ष पेस गर्ने कार्यक्रम छ ।
गठबन्धनले राष्ट्रियता खतरामा : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारले राष्ट्रियता झन्झन् कमजोर पारेको टिप्पणी गरेका छन् ।
गठबन्धनको सरकार बनेपछि ‘राष्ट्रियता झन् बलियो होला भन्ने ठाने पनि झनै कमजोर हु“दै गएकाले त्यो आपत्तिजनक रहेको’ उनले बताए । ‘समाजवादको यात्रा भनेको युगले मागेको हो, जनता र राष्ट्रहितको कुरा हो समाजवाद भनेको,’ उनले भने, ‘अहिले राष्ट्रियता झन्झन् खतरामा पर्न थालेको छ । गठबन्धन सरकार बनेपछि राष्ट्रियता बलियो होला भनेको त झन्झन् कमजोर हँुदै जान थाल्यो, जुन दुःखद् हो ।’
नेता खनालले वामलोकतान्त्रिक गठबन्धन ‘कहिलेसम्म जान्छ ?’ भन्ने प्रश्न जटिल रहेको पनि सुनाए । गठबन्धन सरकार प्रस्ट रूपमा समाजवाद यात्रामा अघि बढ्नुपर्नेमा ‘त्यस्तो हुन नसकेको’ उनको टिप्पणी छ ।
उत्तरतिरको छिमेकी ‘संसारको पहिलो शक्ति र दक्षिणतिरको छिमेकी दोस्रो शक्ति हुने’ भन्दै उनले ‘दुवैबीच रहेको नेपालले सन्तुलन मिलाएर अघि बढ्न सक्नुपर्ने’मा जोड दिए ।
‘दुवै छिमेकीबीचको सन्तुलन मिलाउन सकेनौं भने हाम्रो देशको हित गर्न सक्दैनौं, सन्तुलन कायम गर्न सक्नुपर्छ,’ उनले प्रश्न गरे, ‘संयुक्त सरकार भएपछि त छलफल गर्नुपर्छ नि एकलौटी रूपमा गर्ने हो ?’यो समाचार आजको राजधानी दैनिकमा छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे