
काठमाडौं । युइएफए नेसन्स लिगको फाइनलमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको छ । आइतबार म्युनिखमा सम्पन्न रोमाञ्चक फाइनल खेलमा पोर्चुगल ५–३ को जित निकाल्दै दोस्रोपटक नेसन्स लिग च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समयपछि दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । पेनाल्टी सुटआउटमा स्पेनका अल्भारो मोराटाले आफ्नो प्रहार चुकाएपछि पोर्चुगलका रुबेन नेभेसले निर्णायक पेनाल्टीमा गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।
स्पेनका लागि मार्टिन जुबिमेन्डी र मिकेल ओयारजाबालले गोल गरेका थिए भने पोर्चुगलतर्फबाट क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डेसले बराबरी गोल फर्काएका थिए ।
पेनाल्टी सुटआउटमा पोर्चुगलका गोलरक्षक डिएगो कोस्टाले मोराटाको प्रहार बचाउन सफल भएका थिए । यसपछि नेभेसको विजयी प्रहारले पोर्चुगललाई च्याम्पियन बनायो ।
खेलको अन्त्यमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक बने । घाइते भएर मैदान छोडेका रोनाल्डो निर्णायक क्षण स्ट्यान्डबाट हेर्न बाध्य भएका थिए । उपाधि जितेपछि उनी खुशीका आँसुमा भिजेका देखिन्थे ।
यस जितसँगै पोर्चुगलले सन् २०१९ पछि दोस्रोपटक युइएफए नेसन्स लिगको उपाधि उचालेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे