
काठमाडौँ, २०८१ मंसिर २० – संयुक्त राष्ट्र संघका लागि नेपाली पूर्व राजदूत तथा प्राध्यापक डा. जयराज आचार्यले नेपाललाई असफल मुलुक बनाउनमा मुख्य भूमिका कर्मचारीतन्त्रको नभई राजनीतिक दलहरूको रहेको बताएका छन्। उनले कर्मचारीतन्त्रमा दलका संघ, संगठनहरूको प्रभावले कर्मचारीको वृत्ति विकासमा समस्या ल्याइरहेको आरोप पनि लगाएका छन्।
नेम (सेडेप नेपाल) द्वारा काठमाडौंमा आयोजित नवनियुक्त राजपत्राकिंत तृतीय श्रेणी, शाखा अधिकृतहरूको सम्मान कार्यक्रममा बोल्दै डा. आचार्यले कर्मचारीतन्त्रको व्यावसायिकता र निष्पक्षता कमजोर भएको बताएका थिए। उनका अनुसार, राजनीतिक दलका विभिन्न संघ-संस्थाहरूको हस्तक्षेपले कर्मचारीको कर्तव्यनिष्ठा र कार्यक्षमता प्रभावित भएको छ, जसका कारण उचित प्रतिफल प्राप्त गर्न नसक्ने अवस्था उत्पन्न भएको छ। उनले यसलाई सुधार्नका लागि दलका संघ-संस्थाहरूलाई खारेज गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा डा. आचार्यले नवनियुक्त शाखा अधिकृतहरूलाई जनतालाई छिटो, छरितो र प्रभावकारी सार्वजनिक सेवा प्रदान गर्न कर्तव्यनिष्ठ र इमान्दारीपूर्वक कार्य गर्नको लागि अनुरोध गरेका छन्। उनले सार्वजनिक सेवामा कुनै दाग नलाग्ने गरी कार्य गर्ने महत्त्वमा जोड दिँदै कर्मचारीलाई जनसेवामा कटिबद्ध हुन आग्रह गरे।
डा. आचार्यले यसै अवसरमा कर्मचारीतन्त्रको तलबमान कम भएको विषयमा पनि टिप्पणी गर्दै तलबमानमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। उनले कर्मचारीतन्त्रको आकार घटाएर भएपनि तलब कम्तीमा ६० हजार बनाउनु पर्ने सुझाव दिएका छन्।
सेडेप नेपालले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन, लेखा, राजश्व तथा लेखापरीक्षण सेवा, न्याय सेवा र परराष्ट्र सेवाका नवनियुक्त शाखा अधिकृतहरुलाई सम्मान गरेको हो। सेडेप नेपाल विगत १८ वर्षदेखि सरकारी सेवामा प्रवेशका लागि सहजीकरण र मार्गनिर्देशन गर्दै आइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे