
काठमाडौं, १६ असोज । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो ।
उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ ।
केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । पत्रकार अभिसार शर्माले दिल्ली प्रहरी आफ्नो घरमा आएर ल्यापटप र फोन लगेर गएको बताएका छन् ।
भारतीय जनता पार्टी विजेपीका सांसदहरुले संसदमा नै न्युज क्लिकमाथि चिनियाँ लगानीमा सञ्चालन रहेको आरोप लगाएका थिए भने न्युज क्लिकले नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीको आलोचना गर्ने गरेको थियो ।
प्रवर्तन निर्देशनालयको अनुसन्धानले न्युजक्लिकमा चिनियाँ कम्पनीबाट प्रत्यक्ष लगानी स्वरुप ९ करोड ५९ लाख र सर्विस एक्स्पोर्ट मार्फत २८ करोड ४६ लाख रुपयाँ आएको फेला परेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे