
काठमाडौँ, १२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर महिनाभित्र सम्पन्न गर्ने गरी तयारी तीव्र पार्न निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को नेतृत्वलाई चुस्त र प्रभावकारी ढंगले तयारी गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री ओलीले सन् २०२६ मा जापानमा आयोजना हुने एसियन गेम्सको पूर्वसन्ध्यामा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालको खेल क्षेत्रको दृष्टिले निकै महत्त्वपूर्ण हुने भएकाले त्यसको तयारी तत्काल थाल्नुपर्नेमा जोड दिए।
उनले प्रतियोगिताको मिति र स्थान यथाशक्य शीघ्र, विस्तृत अध्ययनका आधारमा टुंग्याउन आग्रह गर्दै एकपटक निर्णय गरेपछि फेरबदल नगर्न चेतावनी पनि दिए। प्रधानमन्त्री ओली राष्ट्रिय खेलकुद परिषद्का संरक्षकसमेत हुन्।
प्रधानमन्त्रीले मन्त्रालय र परिषद्को नेतृत्वबीच परस्पर सहयोग र समन्वयमा आधारित कार्ययोजना अघि बढाउनुपर्ने उल्लेख गरे। उनले समयमै पूर्वतयारी सम्पन्न गरी प्रतियोगिता भव्य र व्यवस्थित बनाउन सम्पूर्ण सरोकारवालालाई आह्वान गरे।
छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङलगायत उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे