
काठमाडौं, सोमबार। काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले कालीमाटी तरकारी बजारमा अचानक निरीक्षण गरी विभिन्न जिल्लाबाट आएका तरकारीमा विषादीको अवशेष परीक्षण गरेको छ। निरीक्षणमा संकलित नमूनाहरूमा विषादीको मात्रा निर्धारित मापदण्डभित्र नै पाइएको छ।
सोमबार राती १० बजेदेखि मंगलबार विहान ३ बजेसम्म घुम्ती खाद्य प्रयोगशाला (मोबाइल भ्यान) सहित गरिएको निरीक्षणमा १७४ वटा तरकारीका नमूना संकलन गरी स्थलगत परीक्षण गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. ईश्वर सुवेदीका अनुसार, “नेपालका करिब २० जिल्लाबाट आएका तरकारी, फलफूल र सुकेको माछाका नमूनाहरूमा विषादीको अवशेष मापदण्डभित्र नै रहेको छ।”
परीक्षणमा काँक्रो, घिरौला, तीते करेला, आलु, भन्टा, काउली, बन्दाकोबी, सिमी, धनियाँ लगायतका तरकारी तथा लिचीको नमूना समावेश गरिएको थियो। आरबीपीआर (र्यापिड बायोएसे अफ पेस्टिसाइड रिसिड्युज) विधिबाट अर्गानोफोस्पेट र कार्वामेट समूहका विषादीहरूको परीक्षण गरिएको थियो।
नमूना संकलन चितवन, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर, सर्लाही, धादिङ, नुवाकोट लगायतका जिल्लाबाट आएका तरकारीमा गरिएको हो। यसअघि पनि महानगरपालिकाले नियमित रूपमा खाद्य पदार्थहरूको गुणस्तर नियन्त्रण गर्ने गरेको छ।
यसरी नगरपालिकाले खाद्य सुरक्षा सुनिश्चित गर्न निरीक्षण तथा परीक्षण कार्यक्रम निरन्तरता दिँदै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे