
काठमाडौं, ललितपुर — पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल पाटन अस्पताललाई ६०० शय्याबाट विस्तार गरी १२०० शय्यामा स्तरोन्नती गर्ने योजना अघि बढिरहेको छ। अस्पतालको लागि नयाँ १० तले भवन ललितपुर महानगरपालिका–५, लगनखेलमा निर्माण गरिने छ।
प्रतिष्ठानले उक्त १२०० शय्याको अस्पताल स्तरोन्नतीका लागि वन तथा वातावरण मन्त्रालयमा परियोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) प्रतिवेदन पनि पेश गरिसकेको छ। भवनमा दुई तला बेसमेन्टसहित भुइँतला र आठ तला रहनेछन्। तल्लो बेसमेन्टमा पार्किङ सुविधा रहने छ भने माथिल्लो बेसमेन्टमा लन्ड्री, किचेन, स्टाफ कक्ष, प्याथोलोजी, ब्लड बैंक, सिएसएमडी, एमईपी, र ग्यामा क्यामरा राखिने योजना छ।
भुइँतलामा लबी, इमर्जेन्सी तथा ओपीडी सुविधा समेटिने छ। पहिलो तलामा एक्स–रे, सिटी स्क्यान, ईसीजी, एमआरआई, फार्मेसी, कफी सप, नमूना संकलन, प्रतिक्षा कक्ष, ओपीडी र इमर्जेन्सी प्रवेश हुनेछ। दोस्रो तलामा कन्सल्ट कक्ष, मेडिकल एमआरसी, शल्यक्रिया कक्ष, अर्थोपेडिक्स, छाला रोग कक्ष, नाक–कान–घाँटी रोग कक्ष, आँखा रोग कक्ष, बच्चा उपचार कक्ष, मनोचिकित्सक कक्ष तथा स्त्री–महिला रोग कक्ष रहनेछ।
तेस्रो तलामा दन्त कक्ष, न्यूरोलोजी, कार्डियाक, नेफ्रोलोजी, फिजियोथेरापी र ग्यास्ट्रो विज्ञान केन्द्र रहने योजना छ भने चौथो तलामा शल्यक्रिया कक्ष, पूर्व शल्यक्रिया कक्ष, शल्यक्रिया पश्चात कक्ष, आईसीयू, फार्मेसी, स्टाफ कक्ष, डाक्टर कक्ष र एनेस्थेसिया विभाग समावेश हुनेछन्।
पाँचौं तलामा सुपर स्पेशलिष्ट वार्ड, छैटौं तलामा प्राेफेसर कक्ष, प्राइभेट वार्ड र स्टोर कक्ष, सातौं तलामा सभा हल र कक्षा कोठाहरू, र टप तलामा पानकी ट्याङ्की रहने प्रतिवेदनमा उल्लेख छ।
यो अत्याधुनिक अस्पताल भवन निर्माणको लागि कुल ३६ महिनाको समयावधि तोकिएको छ र यसलाई राष्ट्रिय भवन मापदण्डअनुसार निर्माण गरिनेछ। परियोजनाको कुल लागत १० अर्ब ७३ करोड २३ लाख ५४ हजार ६७९ रुपैयाँ रहेको छ जुन आर्थिक वर्ष २०७९/८० को जिल्ला दररेटअनुसार तोकिएको हो।
भवन निर्माणपछि हाल सञ्चालनमा रहेको ६०० शय्याको पाटन अस्पताल १२०० शय्याको बहुउद्देश्यीय अस्पतालमा परिणत हुनेछ। जनशक्ति व्यवस्थापनमा पनि विस्तार हुनेछ; प्रशासन तथा व्यवस्थापनमा हाल ६२ कर्मचारी रहेका छन् भने क्लिनिकल क्षेत्रमा १५८४ जनशक्ति कार्यरत छ। विस्तारपछि प्रशासनतर्फ कर्मचारी संख्या ७३ र क्लिनिकल सेवामा २३८२ पुग्ने अनुमान गरिएको छ।
पाटन अस्पतालको यो स्तरोन्नतीले क्षेत्रीय स्वास्थ्य सेवा सुधार्ने र अत्याधुनिक प्रविधिमार्फत बिरामीलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे