
काठमाडौँ, १० मंसिर – शुक्रबारदेखि बन्द भएको राहदानी विभागको काम अहिले पनि सुचारु हुन सकेको छैन। विभागका अनुसार, राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा आउनका लागि अझै दुई हप्ता लाग्ने बताइएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै, केही कम्प्युटर प्रणालीमा भाइरस प्रवेश गरेको र यसको फैलावट रोक्नका लागि सबै सेवा बन्द गर्नुपरेको जानकारी दिएको छ। विभागका अनुसार, भाइरसको कारण विभागका सबै इलाका तथा शाखा कार्यालयहरूसँगै विदेशस्थित नियोगमा पनि सेवा प्रभावित भएका छन्।
विभागको सूचनामा भनिएको छ, “राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष प्राप्त भएको छ, र यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने अवस्था भएकोले सबै सेवा बन्द गर्नु परेको हो।”
साथै, विभागले थप जानकारी दिँदै भनेको छ कि उक्त भाइरसको फैलावट रोक्नका लागि विभागले विशेष प्रक्रिया अपनाएको र अब सेवा क्रमशः सुचारु गर्नका लागि तयारी भइरहेको छ। विभागका अधिकारीहरूले भनेका छन् कि पर्ण रूपमा सबै सेवा सुचारु गर्न १-२ हप्ता समय लाग्न सक्ने देखिएको छ।
यसका कारण, राहदानीका लागि आवेदन दिन चाहने नागरिकहरूलाई केही समय अझै कष्ट हुने देखिन्छ, र विभागले नागरिकलाई सहयोगका लागि उचित व्यवस्थापन गर्ने आश्वासन दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे