
काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आज पाशुपत क्षेत्रमा भव्य शोभायात्रा आयोजना गरिएको छ। पशुपति क्षेत्र विकास कोषको आयोजनामा सम्पन्न शोभायात्रामा स्वदेशी तथा विदेशी साधुसन्त, स्थानीय भक्तजन र विभिन्न धार्मिक समूहको उल्लेख्य सहभागिता रहेको थियो।
शोभायात्रा पाशुपत क्षेत्रका प्रायः सबै भागमा परिक्रमा गर्दै अघि बढेको थियो। कार्यक्रममा धामी–झाँक्रीको समेत सहभागिता रहँदा धार्मिक र सांस्कृतिक रंग थपिएको देखिन्थ्यो। बाजागाजा, भजन–कीर्तन र परम्परागत पहिरनले शोभायात्रालाई आकर्षक बनाएको थियो।
भोलि मनाइने महाशिवरात्रिलाई लक्षित गर्दै कोषले भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक तयारी पूरा गरिएको जनाएको छ। सरसफाइ, व्यवस्थापन, सुरक्षा तथा भीड नियन्त्रणलगायतका प्रबन्ध मिलाइएको कोषको भनाइ छ। कोषले पर्वका अवसरमा श्रद्धालुहरूलाई संयमित र मर्यादित ढङ्गले दर्शन गर्न अनुरोधसमेत गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे