
काठमाडौँ, २९ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ आगामी बिहीबार हुने भएको छ।
संसदीय सुनुवाइ समितिको आज सोमवार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ जेठ ३२ गते गर्ने र र त्यसै दिन त्यो प्रस्तावलाई अनुमोदन गर्नेलगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।
बैठकले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका उजुरीको अध्ययन गरी ३१ गते बुधबार ११ बजे उजुरीकर्ताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
कार्कीविरुद्ध जेठ १६ गते १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रक्रिया अगाडि बढेको थियो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।
६५ वर्षे उमेर हदका कारण कार्की आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेका छन् ।
गएको वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथि महाभियोग दर्ता गरिएपछि कायम मुकायमको भरमा चलिरहेको सर्वोच्च अदालतले अबको केही दिनमा नेतृत्व पाउन लागेको हो ।
संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति हुने व्यवस्था छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे