
काठमाडौँ ,२ पुस | पर्थ वेस्टर्न अस्ट्रेलियाको राजधानी हो। वेस्टर्न अस्ट्रेलियाकै उच्च जनघनत्व भएको पर्थ शहरमा विभिन्न उत्कृष्ट विश्वविद्यालय र कलेजहरु रहेका छन्। जसकारण डेस्टिनेसन अस्ट्रेलिया अन्तर्रगत हामीले पर्थ शहर पनि छानेका छौँ। पर्थ शहरमा नेपालीहरुको उपस्थिति तथा विकासका बारे छलफल र जानकारी गराउने उद्देश्यले इन्टरयाक्सन अबाउट नेपलिज डायस्पोरा इन वेस्टर्न अस्ट्रेलिया शिर्षकको गोष्ठी आयोजना गरिएको थियो।
उक्त कार्यक्रम एनआरएनए वेस्टर्न अस्ट्रेलिया, नेपलिज एसोसिएसन इन वेस्टर्न अस्ट्रेलिया (नावा) तथा जुपिटर मिडियाले संयुक्त रुपमा आयोजना गरेको थियो। हिमालयन नेपलिज रेस्टुरेन्ट एंड क्याफेमा आयोजना गरिएका उक्त कार्यक्रममा नेपालीहरुको अनुभव साटासाट गर्ने प्रयास गरिएको थियो। जुपिटर मिडियाका प्रबन्ध निर्देशक तथा डेस्टिनेसन अस्ट्रेलियाका निर्देशक सुनिल आचार्यले उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो। साथै आचार्यले डेस्टिनेसन अस्ट्रेलिया कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश समेत पार्नुभएको थियो।
छलफल कार्यक्रममा बोल्दै नेपलिज एसोसिएसन इन वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष डा वासु रेग्मीले वेस्टर्न अस्ट्रेलियामा भएका नेपाली समुदायको उपलब्धी र विकासका बारे प्रकाश पर्नुभएको थियो। त्यस्तै पर्थमा रहेका नेपाली संस्कृति, भाषा र मन्दिरका बारे जानकारी दिंदै भाषा पाठशालाका प्रधानाध्यापक नबिन भण्डारीले नेपाली बालबालिकाका लागि नेपाली भाषा अध्यापन शुरु गरेको बताउनुभयो। उहाँले नेपाली भाषा र संस्कृतिक गतिविधिका बारे जानकारी गराउनुभयो।
त्यसैगरी लामो समयदेखि पर्थमा बस्दै आउनु भएका र पुराना अनुभव र नयाँ उपलब्धीका बारेमा प्रकाश पार्दै एनआरएनए वेस्टर्न अस्ट्रेलियाका पूर्व संयोजक भैरव ढकालले आफ्नो अनुभव व्यक्त गर्नु भएको थियो। सामाजिक विकासलाई अस्ट्रेलियाले उच्च प्राथमिकता दिईरहेको समयमा विभिन्न नेपाली समुदायहरुको विकास भईरहेको र वेस्टर्न अस्ट्रेलिया विशेषगरी पर्थमा विभिन्न नेपाली भाषा भाषी र नेपालका विभिन्न भेगका समुदायहरु पुनः यहाँ जमघट हुने, आफ्ना चाडबाड मनाउने गरेको एनआरएनए अस्ट्रेलियाका पुर्व संयोजक केदार रिजालले जानकारी दिनुभयो। वेस्टर्न अस्ट्रेलियामा रहेका कर्टिन विश्वविद्यालय, मुरडोक विश्वविद्यालय, एदिथ कोर्वन विश्वविद्यालय, साउदर्न क्रस विश्वविद्यालय लगायतका शैक्षिक संस्थानहरुमा नेपाली विद्यार्थीहरुले राम्रो अध्ययन गरेको, छात्रवृति हासिल गरेको र उत्कृष्ट स्थान हासिल गरेको एक्स्पर्ट एजुकेसन एंड भिसा सर्भिसेसका पर्थ ब्रान्च म्यानेजर समाज भण्डारीले जानकारी गराउनुभयो।
कार्यक्रममा भिसा हब एजुकेसनका निर्देशक सम्पन्न घिमिरे, केबिए ग्लोबल पर्थका सुरज अर्याल, भेब्स ग्लोबलका सुबोध ढकाल, अकाउण्टिङ्ग प्रोफेसनल प्रदिप बानियाँ, नर्स राधा बानियाँ, एक्स्पर्ट एजुकेसन एंड भिसा सर्भिसेसका बिपिन्द्र चौधरी, एभरेस्ट एजुकेसन एंड भिसाका एम केसी, एनआरएनएका सल्लाहकार माधव ढुंगाना लगायत पर्थवासीहरुको उपस्थिति थियो। उक्त छलफलमा कोभिड महामारीका बेला एनआरएनएले निभाएको भूमिका,नेपालीहरुको उपलब्धी र खेलकुद क्षेत्रमा समेत नेपालीहरुले हासिल गरेको उपलब्धीका बारे चर्चा गर्दै एनआरएनए वेस्टर्न अस्ट्रेलियाका अध्यक्ष तथा एनआरएनए संयोजक दीपक बस्नेतले कार्यक्रमको समापन गर्नुभएको थियो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे