
काठमाडौँ,२५ असार ।चालु आर्थिक वर्षको गत शुक्रवारसम्म अर्थात असार २२ गतेसम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि विदेसिने नेपालीको संख्या ७ लाख ५१ हजार ८ सय ४ जना नाघेको छ।
हालसम्म नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्याले नयाँ रेकर्ड बनाएको विभागका निर्देशक गुरुदत्त सुवेदी बताउँछन्।उक्त संख्या दिनैपिच्छे बढ्दै गएको उनले बताए। श्रम स्वीकृति लिएर प्रत्येक महिना कम्तीमा पनि ६० हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेको पाइएको छ। गत फागुनमा वैदेशिक रोजगारमा ६१ हजार आठ सय ४५ जना गएको देखिन्छ।
चैतमा वैदेशिक रोजगारीका लागि ६१ हजार चार सय ७८ युवाले श्रम स्वीकृति लिएका थिए। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो।गत वैशाख महिनामा ५४ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा गएका थिए।वैशाखमा विश्वका ९० वटा देशमा ५४ हजार चार सय ५७ जना रोजगारीका लागि गएको विभागको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षको साउनबाटै वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढ्दै गएको छ।
‘वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै मलेसिया तथा खाडी मुलुक जाने गरेका छन्। पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो छ। श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपालीहरू जाने गरेका छन्। चालु आर्थिक वर्षको असार २२ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या करिब सात लाख ५२ हजार पुगेको छ,’ निर्देशक सुवेदीले भने।
असार महिना नसकिँदै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीको लागि नेपाली कामदार सबैभन्दा धेरै मलेसिया गएका छन्। श्रमस्वीकृति लिई २ लाख ५५ हजार ६ सय २२ जना नेपाली कामदार यही असार महिनामा मात्र मलेसियामा गएका छन्। त्यस्तै १ लाख २९ हजार ५ सय १५ जना कतारमा, १ लाख १२ हजार ६ सय ७ जना युएईमा र १ लाख ९ हजार ८ सय ५२ जना साउदी अरेबियामा कामको खोजीमा विदेसिएका छन्। पछिल्लो समय नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।
यद्यपि त्यो संख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको पाइएको छ। मागअनुसार सम्बन्धित देशमा नेपाली कामदारहरू जाने गरेको अधिकारीहरू बताउँछन्। ‘जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यहीं धेरै जाने हुन्,’ वैदेशिक रोजगार विभागका निर्देशक सुवेदीले भने। नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको पनि अधिकारीहरू स्वीकार्छन्।यस चालु आर्थिक वर्षमा सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ। त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन्। म्यानपावरमार्फत् नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको तथ्यांकले देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे