
काठमाडौं । नर्वेजियन विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजी (NTNU) तथा सेन्ट्रल नर्वे रिजनल हेल्थ अथोरिटीका उच्चस्तरीय स्वास्थ्य विज्ञहरूको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएपछि नेपाल–नर्वेबीचको स्वास्थ्य सहकार्य अझ मजबुत बन्दै गएको छ। शैक्षिक आदान–प्रदान, अनुसन्धान, क्षमता अभिवृद्धि र स्वास्थ्य सेवा सुधारमा वर्षौंदेखि चल्दै आएको साझेदारीलाई यी विशेषज्ञहरूको उपस्थितिले थप सुदृढ बनाएको नेपाल पक्षको भनाइ छ।
भ्रमण टोलीमा प्रो. स्टिग आरिल्ड स्लोर्डाहल, प्रो. टोरस्टेन बाडे रोए, प्रो. एरिक सोलिगार्ड, राग्ना एलिसे ग्रोभाट्समार्क, हान्स ह्याडर्स, क्याथ्रिन एन्सोक, क्याट्रिना स्टाउरेम इङ्गेब्रिग्ट्सेन, एलिन य्ली ड्भेर्ग्सडाल, एन्डर्स विडमार्क लगायत नेपालसँग लामो समयदेखि सहकार्य गर्दै आएका अनुभवी स्वास्थ्य विज्ञहरू सहभागी थिए। टोलीले नेपालमा स्वास्थ्य सेवा अभिवृद्धि, नेतृत्व विकास, अनुसन्धान प्रणाली र मेडिकल शिक्षामा चलिरहेका कार्यहरूको विस्तृत अध्ययन गरेको थियो।
प्रतिनिधिमण्डलले पहिलो चरणमा धुलिखेल अस्पतालमा चिकित्सक, प्राध्यापक तथा अनुसन्धानकर्ताहरूसँग अन्तरक्रिया गर्दै शैक्षिक कार्यक्रम, प्रशिक्षण, क्लिनिकल अध्ययन तथा सामुदायिक स्वास्थ्य सेवामा भएका नवीन अभ्यासबारे छलफल गर्यो। अस्पतालले सञ्चालन गर्दै आएका शिक्षा–स्वास्थ्य सहकार्य कार्यक्रमले स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उपलब्ध गराइरहेको अवसरबारे टोलीले चासो व्यक्त गरेको थियो।
यसपछि टोलीले दोलखा अस्पतालको अवलोकन गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई न्यून स्रोतमा प्रदान गरिने स्वास्थ्य सेवाबारे अवगत भयो। दोलखा अस्पतालले स्रोत, भौगोलिक चुनौती र जनशक्ति अभावबीच पनि स्थापना गरेको सेवा–प्रणालीलाई टोलीले प्रशंसासहित अध्ययन गरेको थियो।
दुवै अस्पतालमा गरिएको छलफल तथा अवलोकनका क्रममा टोलीले नेपालको ग्रामीण स्वास्थ्य संरचना, समुदाय–आधारित सेवा, विपत् व्यवस्थापन प्रणाली तथा स्थानीय स्वास्थ्यकर्मीको भूमिकाबारे गहिरो बुझाइ विकसित गरेको जनाएको छ। NTNU का अधिकारीहरूको अनुसार, नेपालले दुर्गम क्षेत्रका चुनौतीबीच अपनाएको व्यवहारिक स्वास्थ्य मोडेल विश्वका अन्य देशका लागि पनि अध्ययनयोग्य बन्न सक्ने उल्लेख थियो।
धुलिखेल अस्पताल र NTNU बीच विगत लामो समयदेखि शैक्षिक साझेदारी, संयुक्त अनुसन्धान, चिकित्सक तथा नर्सिङ प्रशिक्षण, तथा क्लिनिकल एक्सचेन्ज कार्यक्रम सञ्चालन भइरहेको छ। प्रतिनिधिमण्डलको यसपटकको भ्रमणले दीर्घकालीन सहकार्य कार्यक्रमलाई थप स्पष्टता र दिशा दिएको अस्पतालले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे