
काठमाडौं – नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपालमा भित्र्याउने र बाहिर लैजाने सम्बन्धमा पुनः सूचना प्रकाशित गरेको छ। यो सूचना विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र दफा १२, सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९क, र नेपाल राजपत्रमा पूर्व प्रकाशित सूचनाका आधारमा सार्वजनिक गरिएको हो।
सूचना अनुसार, नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० सम्म बराबरको नगद विदेशी मुद्रा बिना भन्सार घोषणा नेपाल भित्र्याउन सक्नेछन्। यसभन्दा बढी रकमको हकमा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गर्नुपर्ने व्यवस्था कायम छ। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५,००० बराबरको रकमसम्म मात्र भित्र्याउन सकिनेछ।
त्यसैगरी, सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार, प्रयोग वा नेपालमा ल्याउन पूर्ण निषेध गरिएको छ। साथै भारतीय रुपैयाँ २००, ५०० र २००० दरका नोट नेपाली नागरिकले साथमा राख्न, ओसार–पसार वा कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ।
नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन पनि निषेध गरेको जनाएको छ। यो व्यवस्था वैदेशिक मुद्रा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन र मनी लाउन्डरिङ रोकथाममा सहयोग पुर्याउने उद्देश्यले गरिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे