
काठमाडौँ। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणहरूमार्फत कुल १९ खर्ब २३ अर्ब ५५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ।
राष्ट्र बैंकका अनुसार समीक्षावधिमा बोलकबोल प्रक्रियामार्फत २ खर्ब ४६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १६ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ प्रशोचन गरिएको हो। यसबाहेक, ओभरनाइट तरलता सुविधाको माध्यमबाट २ अर्ब ७० करोड रुपैयाँ उपयोग गरिएको छ।
गत वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापन अन्तर्गत विभिन्न उपकरणहरू प्रयोग गरी कुल १३ खर्ब २७ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो।
यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरूबाट) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरिद गर्दै बजारमा ५ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। गत वर्ष सोही अवधिमा ४ अर्ब ७४ करोड डलर खरिद गरी ६ खर्ब ३० अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
यस्तै, समीक्षावधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड बिक्री गरी ४ खर्ब २४ अर्ब ८६ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको छ। अघिल्लो वर्ष यो कारोबार क्रमशः ३ अर्ब २२ करोड डलर बिक्री र ४ खर्ब २८ अर्ब ४१ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिदमा सीमित थियो।
वर्तमान मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले आवश्यकताअनुसार बजारमा तरलता व्यवस्थापन गर्न सक्रिय रूपमा मौद्रिक उपकरणहरू प्रयोग गर्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे