
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर शुक्रबार बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पको पराकम्प रहेको छ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रारम्भिक विवरणअनुसार कुनै ठूलो भौतिक वा मानवीय क्षति नभएको जानकारी दिएका छन्। उनका अनुसार दुगुनागडी क्षेत्रमा सामान्य पहिरो गएको छ भने प्रहरी चौकीको भवन सामान्य चर्किएको छ। साथै, जिल्ला कारागारको दोस्रो तलाबाट हाम फाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको छ, जसको उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी निराजन श्रेष्ठले पनि भूकम्पका कारण सामान्य क्षति भएको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको बताएका छन्।
शुक्रबार बिहान २:५१ बजे गएको उक्त भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे