
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले किसानहरूका लागि आवश्यक पर्ने रासायनिक मल पर्याप्त मौज्दातमा रहेकाले कुनै चिन्ता लिनु नपर्ने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा तीन लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको जानकारी दिए। सोही अवधिमा तीन लाख ९१ हजार मेट्रिक टन मल बिक्री वितरण भइसकेको समेत उनले बताए।
मन्त्री अधिकारीका अनुसार गत वर्ष आयात गरिएको ६४ हजार मेट्रिक टन रासायनिक मल अझै मौज्दातमा रहेको छ। साथै, हाल थप एक लाख ४२ हजार मेट्रिक टन मल आयातको प्रक्रिया अन्तिम चरणमा रहेको र आगामी असार मसान्तभित्र भित्रिने निश्चितजस्तै भएको पनि उनले उल्लेख गरे।
धान रोपाइँका लागि आवश्यक पर्ने अनुमानित ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी मल मौज्दात र छिट्टै आयात हुने मलबाट सहजै आपूर्ति हुन सक्ने मन्त्रीको दाबी थियो।
आगामी आर्थिक वर्षका लागि सरकारले मल आयातका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सो बजेटबाट करिब ६ लाख मेट्रिक टन मल आयात गर्ने तयारी गरिएको छ। यसका लागि आवश्यक कार्ययोजना तयार भइसकेको जानकारी दिँदै मन्त्री अधिकारीले अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त भइसकेको र प्रारम्भिक चरणमा तीन लाख मेट्रिक टन मल आयातका लागि बोलपत्र आह्वान गरिसकिएको पनि बताए।
उनले आगामी वर्षमा मल आपूर्ति सहज बनाउने गरी पूर्वाधार, प्रक्रिया र योजना प्रभावकारी रुपमा अघि बढाउने मन्त्रालयको प्रतिबद्धता दोहोर्याए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे