
काठमाडौँ । नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारण सभाले संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ। साथै, सोमबार नै बसेको बैंक सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाण कुमार चौधरीलाई बैंकको अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। उनले नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।
बैंकका अनुसार निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले आफ्नो दुई कार्यकाल सफलतापूर्वक पूरा गरेका छन्। उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय प्रगति गरेको जनाइएको छ। टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) को प्रवर्द्धन तथा मर्जर प्रक्रिया सफल बनाउन उनले महत्वपूर्ण भूमिका खेलेको बैंकले जनाएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ। प्रति कित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता जारी गरिएको यो उपकरणबाट बैंकको अतिरिक्त प्राथमिक पुँजी बलियो हुने, जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे