
काठमाडौं — एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै स्वामित्वको भवनमा स्थानान्तरण गरेको छ। वैदिक सनातन विधिअनुसार पूजा-आजा गरि शनिबार आयोजित समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट उक्त भवनको समुद्घाटन गरिएको हो।
बैंकका सूचना अधिकारी अर्जुन खनियाका अनुसार, नेपाल राष्ट्र बैंकबाट कार्यालय स्थानान्तरणको स्वीकृति गत शुक्रबार प्राप्त गरिएको थियो। त्यसपश्चात आइतबार थापाथलीस्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालयसहित अन्य विभागहरू नयाँ भवनमा सारिएको हो। स्थानान्तरणपछिको जानकारी सोमबारका दिन एक राष्ट्रिय दैनिकमार्फत सार्वजनिक गरिएको उनले जानकारी दिए।
स्थानान्तरणसँगै अब बैंकका सम्पूर्ण सेवा तथा सुविधा कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गरिने बैंकले जनाएको छ। यसले ग्राहक तथा सरोकारवालाहरूलाई अझ सहज र प्रभावकारी सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
नेपाल राष्ट्र बैंकको नियमन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय स्थानान्तरण गर्दा पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ।
बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को परिच्छेद -२ को ६ अनुसार, नयाँ शाखा खोल्नुअघि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने प्रावधान छ। यद्यपि स्थानान्तरणको स्पष्ट उल्लेख नभए पनि, प्राविधिक रूपमा नयाँ शाखा स्थापनाको प्रक्रिया स्थानान्तरणमा पनि लागु हुने मानिन्छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद -९ को ७९ ले राष्ट्र बैंकलाई नियमन, निर्देशन र निरीक्षणको पूर्ण अधिकार प्रदान गरेको छ। यही व्यवस्थाले कार्यलय स्थानान्तरणजस्ता रणनीतिक निर्णयहरूमा राष्ट्र बैंकको स्वीकृति अनिवार्य बनाएको हो।
राष्ट्र बैंकको एकीकृत निर्देशन (Unified Directives) मा सेवा सञ्चालन, विस्तार र निरन्तरताका मापदण्डहरू समेटिएका छन्। यद्यपि स्थानान्तरणको पृथक अध्याय नरहे पनि सेवा प्रवाहमा असर गर्ने निर्णयमा राष्ट्र बैंकको अनुमतिलाई अनिवार्य मानिन्छ।
वित्तीय क्षेत्रमा पारदर्शिता, सेवा निरन्तरता र नियामक अनुरूपता सुनिश्चित गर्न यस्तो प्रक्रिया आवश्यक रहेको विज्ञहरूले औंल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे