
काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यसै सन्दर्भमा सत्तारूढ दल नेपाली कांग्रेसले गभर्नरका लागि दुई नयाँ नाम – डा. विश्व पौडेल र पिताम्बर भण्डारी – प्रस्ताव गरेको छ।
पूर्व उपप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्षसँगको भेटमा डा. पौडेलको नाम अगाडि सारेको स्रोतले जनाएको छ। यद्यपि अहिलेसम्म कुनै औपचारिक घोषणा गरिएको छैन।
यसअघि कांग्रेसले गभर्नर पदका लागि राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अघि सारेको थियो। तर, वैशाख ५ गते भट्टले दिएको राजीनामा कार्यवाहक गभर्नर नीलम ढुङ्गानाले स्वीकृत नगरेपछि प्रक्रियामा अन्योल उत्पन्न भएको थियो। सो अवस्थाले कांग्रेसलाई वैकल्पिक नामको खोजीमा उभ्याएको थियो।
ज्ञानेन्द्र ढुंगानाको नाम पनि त्यस क्रममा छलफलमा आएको थियो तर प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिको कारण उक्त प्रस्ताव अघि बढ्न सकेन। परिणामस्वरूप, कांग्रेसले नयाँ पात्रका रूपमा डा. पौडेल र भण्डारीलाई अघि सारेको हो।
डा. विश्व पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका छन् र हाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य पनि हुन्। त्यस्तै, पिताम्बर भण्डारी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्, जसले केही महिनाअघि मात्र सेवा निवृत्त भएका थिए।
अब सिफारिस समितिका दुई सदस्यहरू हटाइ नयाँ सदस्य नियुक्त गर्ने तयारी भइरहेको छ। त्यसपछि समितिबाट नयाँ नामको औपचारिक सिफारिस गरिने संकेत देखिएको छ।
अर्थतन्त्र, डिजिटल प्रणाली र बैंकिङ सुधारका क्षेत्रमा डा. पौडेलको अनुभवलाई विशेष मान्यता दिइएको छ। उनी सरकारका विभिन्न आर्थिक सल्लाहकारका रूपमा समेत सक्रिय भइसकेका छन्। कांग्रेसले सोही अनुभवका आधारमा उनलाई गभर्नरका लागि उपयुक्त उम्मेदवारका रूपमा अघि सारेको बुझिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे