
काभ्रे – सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अबदेखि प्रथम सेवा विन्दु (First Point of Contact) सरकारी स्वास्थ्य संस्था मात्रै हुने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै, धुलिखेल अस्पतालबाट सेवा लिँदै आएका करिब २ लाख ५३ हजार ६ सय ८८ जनाको उपचार प्रभावित हुने देखिएको छ। स्वास्थ्य बीमा बोर्डले २०७४ को ऐन र २०७५ को नियमावली अनुसार पहिले नै व्यवस्था गरेको भए पनि पूर्णरूपमा लागू नभएको यो नीति अब २०८२ साउन १ गतेदेखि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो।
धुलिखेल अस्पतालबाट सेवा लिनेहरूलाई अब रिफरल अनिवार्य
धुलिखेल जस्ता सामुदायिक अस्पतालमा उपचार गराउन स्वास्थ्य बीमा अन्तर्गत आएका बिरामीहरूले अबदेखि सरकारी स्वास्थ्य संस्थाबाट रिफरल (प्रेषण पत्र) लिएर मात्र सेवा लिन सक्नेछन्। अपवादस्वरूप, आकस्मिक सेवाका साथै क्यान्सर, मृगौला प्रत्यारोपण, हेड इन्जुरी, स्पाइनल इन्जुरी, डायलाइसिस, अल्जाइमर, पार्किन्सोनिजम, मुटु रोग, एचआईभी, एमडिआर टिबी, मानसिक रोग, सुत्केरी जटिलता, नवजात शिशुको उपचार, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा अति अपाङ्गता भएका बिरामीहरूका लागि भने पहिले लिइएको एकपटकको रिफरल पुर्जी नै पर्याप्त हुने व्यवस्था गरिएको छ।
६ वर्षमा १० लाखभन्दा बढीलाई सेवा
धुलिखेल अस्पतालका निर्देशक डा. बलराम मल्लका अनुसार, बीमा कार्यक्रम सुरु भएको ६ वर्षको अवधिमा अस्पतालले १० लाख ६४ हजार ५ सय ९४ जनालाई सेवा दिएको छ। योमध्ये ९ लाख ६७ हजार ८ सय ३ जनाले ओपीडी सेवा, ४२ हजार ९ सय ३१ जनाले इनपेसेन्ट सेवा तथा ५३ हजार ८ सय ६० जनाले आकस्मिक सेवाबाट उपचार लिएका थिए। गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको कारण बिरामीको पहिलो रोजाइमा धुलिखेल अस्पताल पर्न आएको उनले बताए।
अब नजिकको सरकारी स्वास्थ्य संस्थाबाटै सेवा लिन सकिने
नयाँ व्यवस्थाले केही सहजता पनि ल्याएको छ। अब बिमितले देशको जुनसुकै स्थानबाट पनि नजिकको सरकारी आबद्ध स्वास्थ्य संस्थाबाट पहिलो सेवा लिन सक्नेछन्, अर्थात् बीमा दर्ता गराएको स्थानको अस्पतालमै पुग्नुपर्ने पुरानो बाध्यता हटेको छ। साथै, अघिल्लो व्यवस्था अनुसार बीमा गरेपछि तीन महिना कुर्नुपर्नेमा अब बीमा गरेपछि एक महिना भित्रै सेवा लिन मिल्ने नयाँ व्यवस्था गरिएको छ।
काभ्रेमै १ लाख ९८ हजार भन्दा बढी बिमित
स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय काभ्रेका प्रमुख मुना निरौलाका अनुसार, काभ्रे जिल्लामा मात्रै १ लाख ९८ हजार ६ सय ६१ जनाले स्वास्थ्य बीमा गरेका छन्। काभ्रेका लागि मेथिनकोट अस्पताल, खोपासी, सुन्थान, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकिए पनि अधिकांश बिमितको पहिलो रोजाइ धुलिखेल अस्पताल हुँदै आएको थियो।
बीमाका सुविधाहरू
स्वास्थ्य बीमाअन्तर्गत ५ जनासम्मको परिवारका लागि वार्षिक ३,५०० रुपैयाँ तिरेर १ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सकिन्छ। एक्स–रे, ईसीजी, अल्ट्रासाउन्ड, एमआरआई, सिटीस्क्यान, रगत परीक्षणदेखि साना–ठूला शल्यक्रियासम्म बीमाले कभरेज गर्नेछ। चस्मा, श्रवणयन्त्र, सेतो छडी र वैशाखी लगायतका सहायक सामग्री र बीमा बोर्डले तोकेको सूचीभित्रका औषधिहरू पनि निःशुल्क उपलब्ध छन्।
तर ओठ–तालु काटिएको सर्जरीबाहेक अन्य प्लास्टिक तथा कस्मेटिक सर्जरीहरू भने बीमाले नसमेट्ने स्पष्ट गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे