
सेभिया (स्पेन)एजेन्सी, असार १६ —संयुक्त राष्ट्रसंघको आयोजनामा ‘विकासका लागि वित्त (Financing for Development)’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा सुरु भएको छ। सम्मेलनको उद्घाटन सत्रमा स्पेनका नरेश फिलिप द्वितीय, प्रधानमन्त्री पेड्रो साञ्चेज र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गरेका छन्।
सम्मेलनमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन्। उहाँसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा, र शिष्टाचार महापाल कुमारराज खरेल पनि सहभागी छन्।
प्रधानमन्त्री ओलीको यो भ्रमण राष्ट्रसंघीय महासचिव गुटेरेस र स्पेनका प्रधानमन्त्री साञ्चेजको मैत्रीपूर्ण निमन्त्रणमा भएको हो। ‘एफएफडी-४’ (FfD-4) नाम दिइएको यस सम्मेलनमा विश्वभरका राष्ट्रप्रमुख, सरकार प्रमुख, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्था, वित्तीय तथा व्यापारिक संस्थाहरू, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्रसंघका सम्बन्धित निकायहरूको प्रतिनिधित्व रहेको छ।
नेपालले यस सम्मेलनमा अल्पविकसित, साना र टापु राष्ट्रहरूको आवाज उजागर गर्दै वकालत गर्ने तयारी गरेको छ। सम्मेलनमा विशेषगरी धनी मुलुकहरूद्वारा गरिब राष्ट्रहरूका लागि प्रतिबद्ध गरिएको वित्तीय सहयोग र लगानीको कार्यान्वयन विषयमा गहन छलफल गरिनेछ।
सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकास लक्ष्यहरू (SDGs) का लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग, लगानी, प्रविधि हस्तान्तरण, र विकास सहायता जस्ता विषयहरूमा केन्द्रित रहँदै सम्मेलनले वर्तमान विश्वको वित्तीय संरचनामा सुधार आवश्यकताका विषयमा समेत बहस गर्नेछ। सम्मेलनले तत्कालीन र दीर्घकालीन वित्तीय चुनौतीको पहिचान गर्दै कार्यान्वयनयोग्य निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे