काठमाडौं। गत आर्थिक वर्ष २०८१/८२ मा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले झन्डै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बाहिर लगेका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’ अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा करिब १२ अर्बले बढी हो।
राष्ट्र बैंकका अनुसार शिक्षा प्रयोजनका लागि हुने रकम बाहिरिने क्रम निरन्तर बढ्दो अवस्थामा छ। अघिल्लो वर्षको तुलनामा विद्यार्थीहरूले विदेशमा भर्ना, शुल्क र बसोबास खर्चका लागि अझ बढी रकम खर्च गरेको प्रतिवेदनले देखाएको छ।
यसैगरी, सोही अवधिमा नेपालबाट विदेश भ्रमण गर्नेहरूले ८५ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको तुलनामा भ्रमण खर्च ७.७ प्रतिशतले बढेर ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
तर, राष्ट्र बैंकले भनेको छ — सोही अवधिमा खुद सेवा आय भने ९० अर्ब ९४ करोड घाटामा गएको छ। शिक्षा र भ्रमणतर्फ खर्च बढेको तर सेवा आयमा घाटा देखिनु अर्थतन्त्रका लागि चुनौतीपूर्ण रहेको विज्ञहरूले औंल्याएका छन्।








