
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र–२०८२ अन्तर्गत आप्रवास भिसामा विदेश जाने नेपाली नागरिकहरूलाई परिवर्त्य विदेशी मुद्राको सटही सुविधासम्बन्धी नयाँ व्यवस्था लागू भएको छ। यस व्यवस्थाअनुसार आप्रवास भिसा प्राप्त गरेका नेपाली नागरिकलाई मात्र प्रति व्यक्ति बढीमा पाँच हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्रा सटही सुविधा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउन सक्नेछन्।
यो सुविधा विशेषगरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपाली नागरिकका लागि मात्र रहेको छ। यस्तो व्यक्तिले एक पटक मात्र सटही सुविधा प्राप्त गर्न सक्नेछन्। तर यदि कुनै व्यक्तिले आप्रवास भिसा प्राप्त गरी यो सुविधा नलिई सम्बन्धित देश गएर नेपाल फर्की पुनः जाने अवस्था आएमा वा सोही देशमा रहेको समयमा आप्रवास भिसा प्राप्त गरी नेपाल आई पुनः जाने व्यक्तिलाई यो सुविधा प्रदान गर्न नमिल्ने स्पष्ट व्यवस्था गरिएको छ।
यस सटही सुविधाका लागि नेपाल सरकारले जारी गरेको राहदानी, आप्रवास भिसा र नेपालबाटै शुरु हुने कन्फर्म्ड हवाई टिकटको प्रतिलिपि अनिवार्य रूपमा लिनुपर्नेछ। राष्ट्र बैंकले केही विकसित मुलुकहरूको आप्रवास भिसाको विवरण समेत सार्वजनिक गरेको छ। संयुक्त राज्य अमेरिका र क्यानडाका लागि आप्रवास भिसा (इमिग्रेन्ट भिसा), बेलायतका लागि भिसा जर्नरी कन्सेसनरी स्टेटलेस इन्डिभिजुअल तथा भिसा कन्भर्सन (भीभा) र अस्ट्रेलियाका लागि मानवीय सञ्चार अन्तर्गत लेखिएको भिसाको व्यवस्था गरिएको छ।
सटही सुविधा उपलब्ध गराइएको रकम स्पष्ट देखिने गरी सम्बन्धित व्यक्तिको राहदानीमा दरपीठ गर्नुपर्ने र सो कागजातको प्रतिलिपि अभिलेखको लागि राख्नुपर्ने व्यवस्था छ। साथै बैंक तथा वित्तीय संस्थाले यस प्रकारको सटही सुविधा उपलब्ध गराएको विवरण मासिक रूपमा महिना व्यतित भएको सात दिनभित्र राष्ट्र बैंकको सम्बन्धित विभागमा उपलब्ध गराउनुपर्नेछ।
यस व्यवस्थाअन्तर्गत आप्रवास भिसा (इमिग्रेन्ट भिसा), भिसा जर्नरी कन्सेसनरी स्टेटलेस इन्डिभिजुअल, भिसा कन्भर्सन (भीभा), मानवीय सञ्चार अन्तर्गत लेखिएको भिसा र स्टुडेन्ट भिसा (विद्यार्थी भिसा) प्राप्त गरी सम्बन्धित देशमा जाने व्यक्तिलाई पहिलो पटक मात्र सटही सुविधा उपलब्ध गराउन सकिने छ। यो नियमावली आप्रवास भिसामा विदेश जाने नेपाली नागरिकलाई व्यवस्थित र पारदर्शी विदेशी मुद्रा सटही सेवा प्रदान गर्ने उद्देश्यले ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे