
काठमाडौँ — नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला आह्वान गरेका छन्। पार्टीभित्रको आन्तरिक गतिविधि तथा आगामी रणनीतिबारे छलफल गर्न उनले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूलाई लक्षित गर्दै भेला बोलाएका हुन्।
खड्का निकट स्रोतका अनुसार उक्त भेला यही चैत १९ गते आयोजना गर्ने तयारी गरिएको छ। यससँगै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत बोलाइएको छ, जुन धुम्बाराहीस्थित एक सभा स्थलमा मंगलबार बिहान ११ बजेदेखि सुरु हुनेछ। उक्त बैठक दुई दिनसम्म सञ्चालन हुने बताइएको छ।
बैठकमा विशेष महाधिवेशनमा सहभागी नभएका प्रदेश सभापतिहरूलाई पनि आमन्त्रण गरिएको छ। गत पुस महिनामा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेशका उद्दव थापा, मधेश प्रदेशका कृष्ण यादव, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेशका ललितजंग शाही र सुदूरपश्चिम प्रदेशका वीरबहादुर बलायर सहभागी भएका थिएनन्।
स्रोतका अनुसार तीमध्ये केही प्रदेश सभापतिहरू प्रतिनिधिसभा निर्वाचनपछि बसेको केन्द्रीय कार्यसमिति बैठकमा भने सहभागी भएका थिए। पार्टीभित्र देखिएको मतभेद र आगामी संगठनात्मक निर्णयका विषयमा छलफल गर्न यी बैठकहरू महत्त्वपूर्ण मानिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे