
काठमाडौँ, १९ असार । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २२ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
घरेलु टोलीलाई नेपालले २ सय ५३ रनको लक्ष्य दिएको थियो । नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा मात्र ३१ रन बनाएर अलआउट भयो ।
मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका अभिषेक तिवारीले ५ विकेट लिए ।
६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए । त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो ।
नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ रनको योगदान गरे । उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए । नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए ।
नेपालले २६ रन अतिरिक्त पायो । मलेसियाका मोहम्मद अकरमले सर्वाधिक ३ विकेट लिए । हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान १÷१ विकेट लिए ।
समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे