
काठमाडौं, नेपाल । नेपाल टेलिकमले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीका लागि विशेष “एसईई अफर २०८२” उपलब्ध गराएको छ। यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड प्रदान गरिनेछ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत आफ्नै नम्बरमा यो अफर प्राप्त गर्न सक्नेछन्।
एसईई अफर आज मिति २०८२ चैत्र २६ देखि सुरु भई आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध रहनेछ। नयाँ सिमकार्ड रु. २० मा नेपाल टेलिकमका देशभरका कार्यालयबाट उपलब्ध हुनेछ। सिमकार्ड सक्रिय भएपछि ३० दिनसम्म विद्यार्थीले विभिन्न अफरहरु प्रयोग गर्न सक्नेछन्। नयाँ सिममा रु. ९।८० को मेन व्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस र डाटा चलाउन सकिने व्यवस्था गरिएको छ।
एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिनका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा उपलब्ध हुनेछ। प्रत्येक दिनको सेवा सोही दिन मात्र प्रयोग गर्न सकिनेछ। साथै, रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा प्रत्येक रिचार्जमा ५० मिनेट अन–नेट कल, ५० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा बोनसको रूपमा उपलब्ध हुनेछ। रिचार्जमा प्राप्त बोनस तीन दिनभित्र प्रयोग गर्नुपर्नेछ।
नयाँ सिम प्राप्त गर्न विद्यार्थीले आफ्नो एसईई प्रवेश पत्र वा कक्षा १० को मार्कसिट, फोटो, नागरिकता वा अभिभावकको सरकारी परिचयपत्र र आवश्यक फाराम भर्नुपर्नेछ। सिम सक्रिय गर्न ग्राहकले आफ्नै मोबाइलबाट निर्देशन अनुसार डायल गरी प्रक्रिया पूरा गर्नुपर्नेछ। पहिले नै प्रयोग भइरहेको सिममा पनि विशेष निर्देशन अनुसार एसईई अफर सक्रिय गर्न सकिने व्यवस्था छ।
कम्पनीले गत वर्ष पनि विद्यार्थीहरुलाई यस्तै प्रकारको अफर उपलब्ध गराएको थियो र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिएको जनाएको छ। यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे