
काठमाडौँ । नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै “एनटी फाइबर विद्यार्थी अफर” उपलब्ध गराएको छ । आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने यो अफर विद्यार्थीहरूका लागि मात्र सीमित गरिएको छ र हाल अध्ययनरत धेरै विद्यार्थीहरूका लागि उपयोगी बनेको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमको फाइबर टु द होम सेवा अन्तर्गत ल्याइएको यस अफरमा विद्यार्थीहरूका लागि डाटा सेवा मात्र उपलब्ध गराइएको छ । अफर अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । यसमा प्रतिदिन २५ जीबी डाटा प्रयोग गर्न सकिनेछ भने सो सीमा नाघेपछि इन्टरनेट गति ५ एमबीपीएसमा सीमित हुनेछ । जडान शुल्क ५ सय रुपैयाँ तोकिएको छ । साथै, एक थान ड्युअल ब्यान्ड सीपीई र अधिकतम १०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराइनेछ ।
एनटी फाइबर विद्यार्थी अफर लिन इच्छुक विद्यार्थीहरूले माघ २२ भित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । वि.सं. २०५४ साल वा त्यसपछि जन्म मिति भएका विद्यार्थीहरूका लागि मात्र यो अफर लागू हुनेछ । आवेदनका क्रममा जन्म मिति खुल्ने प्रमाणपत्र, विद्यार्थी परिचयपत्र तथा नाबालिगका हकमा अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
टेलिकमका अनुसार यो अफरको समयावधि समाप्त भएपछि यही प्याकेजमा पुनः नवीकरण गर्न नमिल्ने भएकाले सेवा निरन्तरता चाहने ग्राहकले अन्य उपलब्ध प्याकेजमध्ये छनोट गर्नुपर्नेछ । नवीकरण नगरेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । यससम्बन्धी थप विवरण नेपाल टेलिकमको आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे