
काठमाडौं, नेपाल – नेपाल टेलिकमले आफ्नो जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण अपडेट गर्न सकिने अनलाइन केवाईसी (KYC) प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। हाल यो परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको छ।
नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रूपमा परीक्षणको उद्घाटन गरेका थिए। प्रमुख व्यावसायिक अधिकृत मातन्छेले यो प्रणालीले ग्राहक सेवा अझै मैत्री र प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
प्रादेशिक निर्देशक यादवले भने, “थोरै समयमा धेरै कार्य सम्पन्न हुन सक्ने भएकाले कम्पनीको उत्पादकत्वमा पनि यसले सकारात्मक प्रभाव पार्नेछ।” दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डेटा अद्यावधिकमा यस प्रणालीले सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।
हाल परीक्षणको पहिलो चरणमा ग्राहकहरूले सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आफ्नो नाम, ठेगाना र अन्य विवरण अपडेट गर्न सक्नेछन्। विवरण भर्ने बित्तिकै नेपाल टेलिकमको प्रणालीले ग्राहक विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ।
भविष्यमा यो सुविधा नेपाल टेलिकमको वेबसाइट वा मोबाइल एपमार्फत समेत उपलब्ध गराउने योजना रहेको छ। परीक्षण सफल भएपश्चात क्रमशः काठमाडौं उपत्यका र उपत्यका बाहिरका कार्यालयहरूमा पनि यो सुविधा विस्तार गरिनेछ।
नेपाल टेलिकमले यस नयाँ सुविधामार्फत आफ्नो ग्राहक सेवा डिजिटल, सहज र समयमै पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे