
काठमाडौं, – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को अवसरमा नेपाल टेलिकमले आफ्नो नयाँ योजना “NT Cricket Dhamaka Pack” सार्वजनिक गरेको छ। यो प्याकको उद्देश्य क्रिकेट प्रेमीहरुलाई सहज र सस्तो दरमा क्रिकेट खेलको आनन्द लिन अवसर प्रदान गर्नु हो।
नेपाल टेलिकमले २०८१ मंसिर १३ गते लाजिम्पाट स्थित होटल ¥याडिसनमा आयोजित एक विशेष कार्यक्रमका दौरान “NT Cricket Dhamaka Pack” को औपचारिक शुभारम्भ गरेको हो। उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रूपमा प्याकको शुभारम्भ गरे।
“NT Cricket Dhamaka Pack” अन्तर्गत प्रिपेड र पोष्टपेड मोबाइल प्रयोगकर्ताहरूलाई विशेष डाटा प्याक प्रस्ताव गरिएको छ। रु. ६९९ को प्याकमा ३०० जीबी डाटा उपलब्ध छ, जसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिन्छ। १० जीबीको लिमिट पूरा भएपछि बाँकी समय ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ। यसैगरी, रु. ४९९ मा १५० जीबी डाटा उपलब्ध हुनेछ, जसमा प्रतिदिन ५ जीबी डाटा प्रयोग गर्न सकिन्छ र ५ जीबीको लिमिट पूरा भएपछि २ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
पोष्टपेड प्रयोगकर्ताहरूका लागि मासिक रेन्टलसमेत समावेश गरिएको यो प्याक ३० दिनको अवधिका लागि उपलब्ध हुनेछ भने प्रिपेड प्रयोगकर्ताहरूलाई २८ दिनको अवधिमा सेवा प्रदान गरिनेछ।
नेपाल टेलिकमले यस योजनालाई २०८१ मङ्सिर १४ देखि आगामी पौष ६ गतेसम्म लागू गर्ने जनाएको छ। ग्राहकहरूले 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत धमाका प्याक खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले यस योजनालाई क्रिकेटप्रेमीहरूको खेलप्रतिको लगावलाई सम्बोधन गर्ने प्रयासका रूपमा प्रस्तुत गर्दै, सम्पूर्ण क्रिकेटप्रेमीहरुलाई सस्तो दरमा आफ्नै डिभाइसमा खेल हेर्नका लागि यो प्याक सार्वजनिक गरिएको बताउनुभयो।
अर्को महत्वपूर्ण पहलको रूपमा, नेपाल टेलिकमले नेपाल प्रिमियर लिगको आयोजनास्थल, किर्तिपुरस्थित क्रिकेट मैदानमा हुने सम्भावित दर्शक चापलाई ध्यानमा राखेर, अविच्छिन्न दूरसञ्चार सेवा प्रवाह गर्न छोटो दायरा (small cell) लगायतका उपकरणहरू जडान गरेको छ। साथै, क्रिकेट एसोसियसन अफ नेपाल (क्यान) को अनुरोधमा, मिडिया सेन्टर सञ्चालनका लागि १ जीबीपीएस गतिका २ थान FTTH नि:शुल्क जडान पनि कार्यान्वयन गरिएको छ।
यस योजनाले नेपाल प्रिमियर लिगका खेलहरूको अनुभवलाई दर्शक र खेलप्रेमीहरूका लागि अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे