
काठमाडौं – नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीका लागि ‘एसईई अफर २०८१’ सार्वजनिक गरेको छ। उक्त अफर अन्तर्गत परीक्षार्थीहरूलाई मात्र रु। २० मा सिमकार्ड प्रदान गरिनेछ। साथै, सिमकार्डमा ‘बोनस अन रिचार्ज’ सुविधासमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका अनुसार ‘एसईई अफर २०८१’ तथा ‘बोनस अन रिचार्ज’ योजना २०८१ चैत १५ गतेदेखि २०८२ असार ३० गतेसम्म लागू हुनेछ। देशभर रहेका नेपाल टेलिकमका कार्यालयहरूबाट एसईई परीक्षार्थीहरूले उक्त सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
नयाँ सिमकार्ड सक्रिय गरेपछि पहिलो ३० दिनसम्मका लागि विभिन्न सुविधा उपलब्ध गराइने छ। कम्पनीले पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरिरहेका परीक्षार्थीहरूलाई पनि सोही अफर उपलब्ध गराउने व्यवस्था मिलाएको छ।
नयाँ सिमकार्ड लिने परीक्षार्थीहरूलाई मेन ब्यालेन्सको रूपमा रु। ९.८० उपलब्ध गराइनेछ, जसबाट जुनसुकै नेटवर्कमा कल, एसएमएस वा मोबाइल डेटा प्रयोग गर्न सकिनेछ। साथै, ३० दिनसम्म दैनिक रूपमा नेपाल टेलिकमकै नेटवर्कभित्र २० मिनेटको अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस तथा ५०० एमबी मोबाइल डेटा प्रदान गरिनेछ। यद्यपि, प्रत्येक दिन प्रदान गरिने सेवा सोही दिनभित्र प्रयोग गर्नुपर्नेछ।
नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेशपत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एक प्रति फोटो तथा आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ। सिमकार्ड सक्रिय गर्नका लागि *1414# डायल गर्नुपर्नेछ भने अफर प्राप्त गर्न *1600# डायल गरी निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ।
‘बोनस अन रिचार्ज’ सुविधाअन्तर्गत रु। ५० वा सोभन्दा बढी रिचार्ज गर्दा ५०० एमबी मोबाइल डेटा, नेपाल टेलिकमकै नेटवर्कभित्र ५० मिनेट निःशुल्क कुराकानी तथा ५० वटा अन-नेट एसएमएस प्राप्त हुनेछ। रिचार्जबाट प्राप्त बोनस तीन दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे