
६ भदौ, काठमाडौं । शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलन घोषणा गरेको हो।
महासंघले तय गरेको कार्यक्रमअनुसार भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री तथा प्रमुख राजनीतिक दलका सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ। त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै दुई घण्टे प्रतिनिधिमूलक धर्ना दिने कार्यक्रम छ।
यस्तै, भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाइने र दुई घण्टे धर्ना दिइने महासंघले जनाएको छ। आन्दोलनलाई चरणबद्ध रुपमा अघि बढाइने र माग सम्बोधन नभएसम्म थप दबाबमूलक कार्यक्रम ल्याइने अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी गराएका छन्।
महासंघले भदौ २१ गते दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएको छ। सुवेदीका अनुसार यस चरणमा अवरोधात्मक र विरोध प्रदर्शनसहितका कडा कार्यक्रम घोषणा गरिनेछ। उनले भने, “गत ०८१/८२ सालको भन्दा अझ कडा आन्दोलन गर्नेछौं।”
यसअघि गत चैत २० देखि २९ दिनसम्म महासंघले विद्यालय ठप्प पारेर काठमाडौं केन्द्रित आन्दोलन चलाएको थियो। यसपटकको आन्दोलन पनि शिक्षा क्षेत्रकै माग र हकहितका लागि कडा हुने महासंघले स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे