
काठमाडौं —मंगलबार भएको प्रदर्शनपछि सर्वोच्च अदालत अझै धुँवामय छ। बुधबार दिउँसो २ बजे अदालत परिसर पुग्दा भवनको पछाडि पट्टिको भागमा अझै आगो निभिसकेको थिएन।
परिसरभरि जलाइएका गाडीहरू जलेको अवस्थामा यत्रतत्र थुप्रिएका छन्। कुनै पनि सग्लो अवस्थामा छैनन्। मुद्दा सम्बन्धी फाइलहरू कतै पूरै खरानी भइसकेका छन् भने कतै अधजलेका अवस्थामा भेटिएका छन्।
दराजभित्र रहेका आधिकारिक काजजातसमेत आगोले नष्ट गरिदिएको देखिन्छ। यद्यपि कर्मचारी र अधिवक्ताहरू मिलेर जलेका कागजातहरू संकलन गर्दै सरसफाइमा जुटिरहेका छन्।
“सबै जलेको छ, के गर्ने के नगर्ने,” एक कर्मचारीको भनाइ थियो।
‘बन्द इजलास’ लेखिएको प्लेटसमेत बगैंचाको पर्खालमा झुण्ड्याइएको छ। अदालतको सुरक्षामा अहिले सेना खटाइएको छ।
अदालतले सेवा पुनः सञ्चालन गर्न प्राङ्गणमा सरसफाइ गरी टेन्ट टाँग्ने तयारी गरिरहेको छ।
मंगलबारको आक्रमणपछि सर्वोच्च अदालतमा व्यापक क्षति पुगेको छ, जसले न्याय प्रशासनलाई गम्भीर चुनौती दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे