
काठमाडौँ — नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रयमासमा इजाजतपत्रप्राप्त ‘क’ वर्गका बैंकहरूमाथि गरेको नियामकीय कारबाही सार्वजनिक गरेको छ। सोही क्रममा कुमारी बैंक लिमिटेडलाई एकीकृत निर्देशनको उल्लङ्घन गरेको ठहर गर्दै सचेत गराइएको छ।
राष्ट्र बैंकका अनुसार कुमारी बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ अन्तर्गतको इजाजतपत्र प्राप्त संस्थासम्बन्धी निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ)(५) मा उल्लेखित व्यवस्थाको पालना नगरेको पाइएको हो। उक्त व्यवस्थाअनुसार कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले सूचीबाट फुकुवा नभएसम्म खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने स्पष्ट प्रावधान रहेको छ।
बैंक सुपरिवेक्षण विभागले सो प्रावधानको उल्लङ्घन भएको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१)(क) बमोजिम कुमारी बैंक लिमिटेडलाई पहिलो पटकका रूपमा सचेत गराएको जनाएको छ।
नियामक निकायका अनुसार बैंक तथा वित्तीय संस्थाले कालोसूचीसम्बन्धी व्यवस्थाको कडाइका साथ पालना नगरेमा वित्तीय प्रणालीको पारदर्शिता, जोखिम व्यवस्थापन र निक्षेपकर्ताको हितमा प्रतिकूल असर पर्न सक्ने भएकाले भविष्यमा यस्ता कमजोरी नदोहो¥याउन बैंकलाई निर्देशन दिइएको छ।
नेपाल राष्ट्र बैंकले आगामी दिनमा पनि बैंक तथा वित्तीय संस्थाको कारोबार, जोखिम व्यवस्थापन र नियामकीय अनुपालनलाई प्राथमिकतामा राख्दै निरन्तर अनुगमन र आवश्यक कारबाही जारी रहने स्पष्ट पारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे