
काठमाडौं। बजारमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यो कदम राष्ट्र बैंकले वित्तीय बजारमा स्थायित्व ल्याउने उद्देश्यले चालेको हो।
राष्ट्र बैंकले बुधबार जारी सूचनाअनुसार ८४ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रकम उठाउने तयारी गरेको छ। बोलकबोलको समय आज दिउँसो ३ बजेसम्म तोकिएको छ। यस अन्तर्गत सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा पाँच करोडको गुणकमा बोल गर्न सक्नेछन्।
बोलकबोल प्रक्रियाबाट उठाइएको रकमको सावाँ तथा ब्याज भुक्तानी माघ १८ गते हुनेछ। यसका लागि ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निर्धारण गरिनेछ। राष्ट्र बैंकले निक्षेप संकलन गर्दा बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने प्रावधान गरेको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था लाई मात्र अनुमति दिइएको छ। यसले बजारमा भएको अत्यधिक तरलता नियन्त्रण र ब्याजदरमा सन्तुलन कायम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
हाल देशको बैंकिङ प्रणालीमा अत्यधिक निक्षेप वृद्धि र कर्जाको मागमा कमी देखिँदै आएको अवस्थामा राष्ट्र बैंकले यस्तो नीति अपनाएको हो। विगत केही सातादेखि अन्तरबैंक दरमा दबाब नपरे पनि तरलता व्यवस्थापनका लागि सक्रिय मौद्रिक नीति उपकरण प्रयोग गरिँदै आएको छ।
राष्ट्र बैंकले यसअघि पनि पटक–पटक ओपन मार्केट अपरेसनमार्फत रकम संकलन गर्दै आएको थियो। यो पटकको ३० अर्ब रुपैयाँ निक्षेप संकलनलाई पनि अल्पकालीन मौद्रिक सन्तुलन कायम गर्ने कदमका रूपमा अर्थविद्हरूले अर्थ्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे