
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ। सोमबार केन्द्रीय बैंकले जारी गरेको यस समीक्षा अनुसार मौद्रिक उपकरणहरूमा केही महत्वपूर्ण समायोजन गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमामा रहेको स्थायी तरलता सुविधा दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दर ४.५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। यद्यपि तल्लो सीमामा रहेको स्थायी निक्षेप सुविधा दर यथावत राखिएको छ।
समीक्षामा अन्य प्रमुख हेरफेरहरू यस प्रकार छन्: व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा रु. ५० लाखबाट बढाएर रु. १ करोड कायम, लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको अधिकतम सीमा रु. ७ लाखबाट बढाएर रु. १५ लाख कायम, र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कम्तीमा १ प्रतिशत अंक कम गर्ने पुरानो व्यवस्था खारेज।
त्यसैगरी, लघुवित्त ऋणीहरूको कर्जा भुक्तानीमा देखिएको समस्या समाधान गर्न कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ। बाढी, पहिरो लगायत प्राकृतिक विपत्तिबाट प्रभावित जिल्लाका उद्यम तथा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० प्रतिशत ब्याजदरमा पुनरसंरचना गर्ने सुविधा प्रदान गर्ने नीति समावेश गरिएको छ।
विद्युतीय भुक्तानी कारोबार वृद्धिसँगै महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाका शाखाहरूको समायोजन तथा एकीकरण गर्न समेत सुविधा मिलाइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे