
काठमाडौं, २८ भदौ — पछिल्ला दशकमा नेपालको राजनीतिलाई ‘फोहोरी खेल’ को रूपमा हेर्दै आएका युवा अब आफैं नेतृत्वको मोर्चामा उभिन थालेका छन्। जेन–जी (Gen Z) पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक आन्दोलनले सत्ता र शक्ति संरचना हल्लाएको मात्र होइन, राजनीतिप्रति आमधारणा बदल्ने काम पनि गरिदिएको छ।
सन् १९९७ देखि २०१२ बीच जन्मेका जेन–जी पुस्ता लामो समयसम्म राजनीतिबाट विमुख थिए। वैदेशिक रोजगारी, शिक्षा र उद्यममा केन्द्रित यस पुस्ताले नेपालको विकृत राजनीतिको कारण आफ्नै देशमा भविष्य छैन भन्ने ठानिरहेका थिए।
तर, भ्रष्टाचार, सामाजिक असमानता, विशेषाधिकार र सञ्जाल प्रतिबन्ध जस्ता कारणले उत्पन्न असन्तोष विस्फोट भएपछि उनीहरू राजनीतिको अग्रपंक्तिमा आइपुगे।
राजनीति देखेर टाढिएका युवा, अब नेतृत्व गर्न तयार
नेपालको विगत ३० वर्षको इतिहास हेर्ने हो भने एकै पुस्ताले लगातार शासन सत्ता कब्जा गर्दै आएको देखिन्छ। उनीहरूकै कारण राजनीतिक पुनर्जागरणमा युवाको सहभागिता न्यून हुँदै गएको थियो।
“हामीलाई मौकानै दिइएन,” आन्दोलनमा सहभागी एक जेन–जी अभियन्ताको भनाइ थियो, “अब हामी मौन रहनेवाला छैनौं।”
आन्दोलनले ल्यायो सत्ता परिवर्तन
भदौ २३ र २४ मा देशव्यापी रूपमा उठेको जेन–जी आन्दोलन एकैदिन १९ जनाको ज्यान गएपछि निर्णायक मोडमा पुग्यो। आन्दोलनले दुईतिहाइ बहुमत भएको सरकारलाई थामिन नसक्ने बनायो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेपछि राजनीतिमा युवा पुस्ताको अधिकारिक प्रवेश भएको छ।
युवाको नेतृत्वबाट परिवर्तनको आशा
राजनीति गालीगलौज, भ्रष्टाचार र आपराधिक संस्कृतिमा डुबेको भन्दै युवाले त्यसप्रति वितृष्णा राख्दै आएका थिए।
तर, अहिले त्यही पुस्ता सत्ता हस्तक्षेपमा उत्रिएको छ।
अबको चुनौती भनेको राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र अवसरको समानता सुनिश्चित गर्नु हो।
“हामीले पुराना नेताजस्तो बन्नु हुँदैन,” जेन–जी अभियन्ता युजनराज भण्डारी भन्छन्, “अबको राजनीति नैतिकताको आधारमा अघि बढ्छ।”
राजनीतिलाई अब सकारात्मक दृष्टिले हेर्न थालिएको छ
युवाको यो हस्तक्षेपले केवल सरकार परिवर्तन मात्र होइन, राजनीतिक संस्कृति बदल्ने अपेक्षा गरेको छ। अब नेतृत्व उमेर होइन, सोचले मापन गरिनेछ भन्ने सन्देश जेन–जी आन्दोलनले दिएको छ।
विगतमा राजनीति आफ्नो भविष्यको सौदा गरिने ठाउँ ठान्ने युवाहरू अब आफैंले व्यवस्था बदल्न थालिरहेका छन्। यो सन्देशले भविष्यमा जवाफदेही र स्वच्छ राजनीतिक नेतृत्व विकास हुने आशा जगाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे