
काठमाडौँ, –गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनमा नेपाल प्रहरीले अझ क्रियाशील र समन्वित भूमिकामा अग्रसर हुनुपर्ने बताएका छन्।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित “विपद् व्यवस्थापन पूर्वतयारी निरीक्षण तथा निर्देशन कार्यक्रम”लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सूचना संकलन, पूर्वानुमान र समन्वयमा विशेष संवेदनशीलता अपनाएर कार्यसम्पादन गर्न प्रहरीलाई निर्देशन दिएका हुन्।
कार्यक्रममा उनले विगतका त्रुटिहरूको समीक्षा गर्दै भविष्यमा त्रुटिरहित र प्रभावकारी ढंगले विपद् व्यवस्थापन गर्न प्रहरी अधिकृतहरूलाई आह्वान गरे। उनले भने, “स्थानीय तह र अन्य सरोकारवालासँग समन्वय गरेर जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने किसिमले कार्य गर्नु आवश्यक छ।”
सो अवसरमा गृहमन्त्री लेखकले विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन तथा उद्धार सामग्रीहरूको अवलोकन पनि गरे।
कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले आपसी समन्वय र सूचना संकलनको महत्त्व उल्लेख गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग सहकार्य गर्दै जनताको आशाको केन्द्रको रूपमा प्रभावकारी सेवा दिनुपर्ने बताए। “संकटकालमा जनताको आशा प्रहरीप्रति हुने भएकाले संवेदनशील र उच्च मनोबलका साथ सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ,” उनले भने।
प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी संगठनले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा विपद् व्यवस्थापनमा उपलब्ध स्रोतसाधन र जनशक्ति प्रयोग गर्दै जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गरे। उनले भने, “विपद्का संभावित चुनौतीहरू अकल्पनीय पनि हुन सक्छन्, त्यसैले पूर्वतयारीलाई पहिलो प्राथमिकता दिइएको छ।”
थापाले प्रहरी कर्मचारीलाई उच्च मनोबलसहित तयारी अवस्थामा रहन, स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय गरेर कार्य गर्न निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, उपत्यका प्रहरी कार्यालय र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले पूर्वतयारीसम्बन्धी आफ्ना प्रस्तुतीहरू दिएका थिए।
यस अवसरमा निमित्त सशस्त्र प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रदेश प्रहरी तालिम केन्द्र र गण प्रमुखहरू लगायत जिल्ला प्रहरी कार्यालय प्रमुखहरूको पनि भर्चुअल सहभागिता रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे