
काठमाडौं । नेपाल आयल निगमले राजधानीको गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स रहेको स्थानमा निर्माण गर्न लागेको नयाँ हवाई इन्धन डिपो ६ अर्ब ५४ करोड २९ लाख ५ हजार ५७ रुपैयाँ २० पैसामा निर्माण हुने भएको छ। सो डिपो २०८४ सालको मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।
सिनामंगलस्थित हवाई इन्धन डिपोका कार्यालय प्रमुख प्रदिपकुमार यादव का अनुसार, मन्त्रीपरिषद्को २०८१ साउन २८ गतेको निर्णयअनुसार सिनामंगलस्थित वर्तमान डिपोलाई स्थानान्तरण गर्दै गुह्येश्वरीमा अत्याधुनिक डिपो निर्माण गर्न लागिएको हो।
डिपिआर तयार गर्नका लागि नेपाल आयल निगम र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको ईन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक) बीच २०८१ मंसिर ५ गते सम्झौता गरिएको थियो। प्रतिवेदन अनुसार निर्माण हुने डिपोमा एल३ स्तरको पूर्ण स्वचालित अटोमेशन प्रणाली प्रयोग गरिनेछ।
डिपोमा प्रारम्भिक चरणमा ३ हजार किलोलिटर क्षमताका ५ वटा भर्टिकल ट्याङ्की निर्माण गरिनेछ, भविष्यमा थप भण्डारण आवश्यक परेमा विस्तार गर्न सकिने गरी खाली स्थानसमेत राखिनेछ। इन्धन लोडिङका लागि ६ वटा र अनलोडिङका लागि ८ वटा बे, साथै अन्तरराष्ट्रिय उडानका जहाजहरूमा इन्धन भर्न ७ वटा पिट ह्याण्ड्रान्ट रिफुलिङ सिस्टम र २ वटा रिफुलिङ डिस्पेन्सर रहनेछन्।
अग्नि सुरक्षाको लागि डिपोमा २ हजार १०० किलोलिटर क्षमताका २ वटा स्थिर पानी ट्याङ्की र पूर्ण स्वचालित फायर फाइटिङ सिस्टम पनि जडान गरिनेछ। डिपोमा प्रशासनिक भवन, प्रयोगशाला, मर्मत सम्भार यार्ड र सुरक्षार्थ खटिने नेपाली सेनाका लागि छुट्टै भवनको व्यवस्था गरिनेछ। निर्माण कार्यमा एपीआई (API) र ओआइएसडी (OISD) जस्ता अन्तरराष्ट्रिय मापदण्डहरूको पूर्ण पालना गरिने निगमले जनाएको छ।
हाल निगमले डिपो निर्माण स्थलमा जग्गा चारकिल्ला छुट्याउने कार्य सम्पन्न गरी नागरिक उड्डयन प्राधिकरणबाट साइट क्लिरेन्सको प्रक्रिया अगाडि बढाएको छ।
निगमले तयार पारिएको डिपिआर अध्ययन पश्चात् चालू आर्थिक वर्ष २०८२/८३ भदौ महिनाभित्र सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) आह्वान गर्ने योजना बनाएको छ। सोही अनुरूप २ महिनाभित्र बोलपत्र मूल्यांकन गरी मंसिरभित्र निर्माण कार्य सुरु गरेर २ वर्षभित्र सम्पन्न गरी डिपो सञ्चालनमा ल्याउने निगमको रणनीति रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे