
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा देखिएको छ । जबकि गत आर्थिक वर्षको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो । मुलुकबाट बाहिरिने र मुलुकमा भित्रिने रकमको अन्तरलाई शोधनान्तर स्थितिले जनाउँछ । मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचतमा जान्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब ८८ करोड बचतमा देखिएको छ ।
शोधनान्तर स्थिति बचतमा जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव पर्दछ । साउन-असोज मसान्तसम्म २९ खर्ब ७९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तसम्म यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब बराबर रहेकोमा तीन महिनामा ११.३ प्रतिशतले बढेको हो ।
अमेरिकी डलरमा मुलुकको सञ्चिति असार मसान्तसम्मको तुलनामा ८.७ प्रतिशतले बढेर साउन(असोज मसान्तसम्म २१ अर्ब २१ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २४ खर्ब १४ अर्ब रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ३ खर्ब १२ अर्ब १० करोड रुपैयाँ बराबर छ ।
हालको विदेशी विनिमय सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १९.९ महिनाको वस्तु र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे