
काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज काठमाडौँमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको हालको राजनीतिक तथा आर्थिक परिस्थिति र जापानले पुर्याउँदै आएको सहयोगका विविध विषयमा विस्तृत छलफल भएको हो ।
अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थतिमा गठन भएको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए । उनले पुनःनिर्माण, पूर्वाधार निर्माण र सामाजिक–आर्थिक विकासका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।
भेटमा जापानी राजदूतले नेपाललाई जापानले निरन्तर गर्दै आएको सहयोगबारे स्मरण गर्दै भविष्यमा पनि दिगो विकास र समावेशी अर्थतन्त्र निर्माणमा जापान नेपालसँगै रहने आश्वासन दिए । उक्त अवसरमा निर्माणाधीन नागढुंगा टनेल मार्ग, तनहुँ जलविद्युत् आयोजना, सिन्धुली सडक बाढी प्रभावित पुनःस्थापना कार्यक्रम र कोटेश्वर चोक सुधार परियोजना लगायतका सहयोगका विषयमा पनि कुराकानी भएको थियो ।
भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको समेत उपस्थिति रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे