
काठमाडौँ — नेपालमा बिमा क्षेत्रको पहुँच र योगदान अझै सीमित रहेको देखिएको छ। तथ्याङ्कअनुसार जीवन बिमाअन्तर्गत सावधिक, एकल तथा आजीवन बिमाको पहुँच १७.२ प्रतिशत रहेको छ भने म्यादी बिमाको पहुँच १८.७ प्रतिशत र वैदेशिक रोजगार बिमा ७ प्रतिशत मात्र रहेको छ। यसअनुसार करिब ५७.१ प्रतिशत नागरिक अझै बिमा सेवाबाट बाहिर रहेका छन्।
बिमा क्षेत्र वित्तीय प्रणालीको महत्त्वपूर्ण अङ्ग भए पनि यसको कुल गार्हस्थ उत्पादनमा योगदान करिब ३ प्रतिशत मात्र रहेको छ, जुन अपेक्षाभन्दा न्यून हो। विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा बिमा सेवा विस्तार चुनौतीपूर्ण बनेको छ। स्थानीय तहमा सेवा विस्तारका लागि कार्यालय सञ्चालन गर्दा लागत बढ्ने भएकाले बिमा कम्पनीहरूको उपस्थिति सीमित देखिएको छ।
कृषि बिमामा सरकारी अनुदानको व्यवस्था भए पनि कृषकहरूको आकर्षण अपेक्षाकृत न्यून रहेको छ। जलवायु परिवर्तन र मौसमजन्य जोखिम बढ्दै जाँदा बिमा प्रिमियम महँगो हुने र जोखिम उच्च रहने भएकाले बिमा कम्पनीहरू पनि कृषि क्षेत्रमा सक्रिय हुन हिच्किचाइरहेका छन्।
यसैगरी, बिमा व्यवसायमा दक्ष जनशक्तिको अभाव देखिएको छ। विशेषगरी जोखिम मूल्याङ्कन गर्ने विशेषज्ञहरूको कमी रहेको छ भने स्वदेशी विश्वविद्यालयहरूमा बिमा तथा सम्बन्धित विषयलाई पर्याप्त प्राथमिकता नदिइएको अवस्था छ।
बिमा कम्पनीहरूले सङ्कलित प्रिमियम रकम उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा त्यसको ठूलो हिस्सा बैंकमा मुद्दती खातामा राखेर ब्याज आम्दानी लिने प्रवृत्ति देखिएको छ, जुन प्रचलित व्यवस्था विपरीत मानिन्छ। सरोकारवालाहरूले यस्तो रकम विकास निर्माण तथा भौतिक पूर्वाधारमा परिचालन गरी अर्थतन्त्रलाई गतिशील बनाउनुका साथै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे