
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन कानुनअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले आचारसंहिताको पूर्ण पालना गर्दै प्रचार–प्रसार गर्न र औपचारिक रूपमा मतदातासमक्ष मत माग्न सक्नेछन्। निर्वाचन आयोगले तोकिएको मापदण्डभित्र रहेर दल र उम्मेदवारले पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा विज्ञापनमार्फत प्रचार गर्न सक्ने स्पष्ट पारेको छ।
आमसभा र कोणसभा गर्दा मञ्च तयारीलगायत खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ।
आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार उल्लङ्घनकर्तासँग स्पष्टीकरण सोधिने र प्रमाण तथा अवस्थाका आधारमा सचेत गराउनेदेखि दण्ड–जरिवाना र उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था लागू हुन सक्छ।
निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले पुनः स्मरण गराएको छ। आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षहरूसँग व्यापक छलफलपछि तर्जुमा गरिएको र सबै दलहरूले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेको आयोगले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे