
काठमाडौं। राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले प्रवद्र्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवाअन्तर्गत स्वास्थ्य शिक्षा र सञ्चारलाई जनस्वास्थ्य सुधारको मेरुदण्डका रूपमा स्वीकार गरेको छ। नीतिले आम समुदायमा स्वास्थ्य चेतनाको अभाव नै खराब स्वास्थ्य अवस्थाको मुख्य कारण भएको औँल्याउँदै केन्द्रदेखि गाउँस्तरसम्म प्रभावकारी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने स्पष्ट मार्गनिर्देशन दिएको छ। राजनीतिज्ञ, शिक्षक, सामाजिक संघसंस्था, महिला तथा स्वयंसेविकालाई वडा तहसम्म परिचालन गर्ने अवधारणासमेत यही नीतिबाट अघि सारिएको हो।
यसै नीतिगत आधारमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र ले स्वास्थ्य सेवा तथा कार्यक्रमहरूको एकीकृत ‘एकद्वार प्रणाली’ का रूपमा वकालत, समुदाय परिचालन र व्यवहार परिवर्तन सञ्चार कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन तथा मूल्यांकन गर्दै आएको छ। केन्द्रले सबै स्वास्थ्यसम्बन्धी सन्देशलाई एकीकृत रूपमा सञ्चालन गरिरहेको भए पनि समयानुकूल नीतिगत सुदृढीकरण र प्रभावकारितामा अझै प्रश्न उठिरहेका छन्।
नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रम दोस्रो (२०१०–२०१५) ले स्वास्थ्य शिक्षा तथा सञ्चारलाई जनस्वास्थ्य प्रवद्र्धनको प्रमुख औजारका रूपमा प्राथमिकता दिएको थियो। अत्यावश्यक स्वास्थ्य सेवा तथा कार्यक्रमको उपयोग वृद्धि, सरुवा तथा नसर्ने रोग नियन्त्रणका लागि वकालत, सामाजिक परिचालन र व्यवहार परिवर्तन सञ्चारलाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिइए पनि व्यवहारमा अपेक्षित प्रभाव देखिएको छैन। छापा माध्यम, नेपाल टेलिभिजन, रेडियो नेपाल र प्रतिस्पर्धात्मक प्रणालीबाट छनोट गरिएका अन्य सञ्चार माध्यममार्फत स्वास्थ्य सन्देश प्रवाह हुँदै आए पनि यसको पहुँच, गुणस्तर र प्रभावकारितामा असमानता देखिन्छ।
स्वास्थ्य सूचकाङ्कले नेपालको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख देखिए पनि चुनौती गम्भीर नै छन्। हाल कुल मृत्युको ५१ प्रतिशत नसर्ने रोग, ४२ प्रतिशत सरुवा रोग तथा अन्य कारण र ७ प्रतिशत दुर्घटना तथा चोटपटकबाट हुने गरेको तथ्याङ्क छ। मातृ मृत्युदर २८१ प्रति एक लाख जीवित जन्म, नवजात शिशु मृत्युदर ३३, शिशु मृत्युदर ४६ र पाँच वर्षमुनिका बालमृत्युदर ५४ प्रति हजार जीवित जन्म रहेको छ। औसत आयु ६३ वर्ष नाघे पनि जनस्वास्थ्य सेवा र कार्यक्रमप्रति नागरिकको पहुँच र उपयोग वृद्धि नगरी रोग र मृत्युदर घटाउन कठिन हुने देखिन्छ।
यही सन्दर्भमा स्वास्थ्य सञ्चार कार्यक्रमहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सञ्चार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न अनेकौं समस्या भोग्दै आएको छ। नीतिगत रूपमा प्राथमिकता दिइए पनि व्यवहारमा विभिन्न निकायबीच समन्वय अभाव देखिन्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सहमति र समन्वयबिनै स्वास्थ्य सन्देश विकास, उत्पादन र प्रचारप्रसार हुनु, कतिपय सामग्रीमा शुद्धता, एकरूपता र आधिकारिकताको कमी हुनु गम्भीर समस्या बनेको छ।
स्वास्थ्य सन्देश प्रचारप्रसारमा अझै पनि सरकारी सञ्चार माध्यम केन्द्रित सोच हावी छ। समाजमा व्यापक रूपमा स्थापित निजी र सामुदायिक सञ्चार माध्यमलाई पर्याप्त उपयोग गर्न नसक्दा पहुँच सीमित भएको छ। बहुभाषिक र बहुसांस्कृतिक देश हुँदाहुँदै अधिकांश स्वास्थ्य सन्देश नेपाली भाषामै सीमित हुनु अर्को चुनौती हो। दुर्गम क्षेत्र, सीमान्तीकृत समुदाय र अशिक्षित जनसमुदायसम्म सन्देश पुर्याउन आवश्यक सामग्री, भाषा र माध्यमको अभाव देखिन्छ।
सूचना प्रविधि र सञ्चार माध्यमको तीव्र विस्तारसँगै स्वास्थ्य सन्देशको माग बढ्दै गए पनि स्रोत, दक्ष जनशक्ति र गुणस्तरीय सामग्री अभावका कारण प्रभावकारी सञ्चार हुन सकेको छैन। महिलाहरू, गरिब तथा सीमान्तीकृत समुदाय सञ्चार माध्यममा पहुँच हुँदाहुँदै पनि दैनिक जीवनको व्यस्तताका कारण स्वास्थ्य सन्देशबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ।
अर्कोतर्फ, स्वास्थ्य सञ्चार सरकारको मात्र दायित्व हो भन्ने मानसिकता, निजी सञ्चार माध्यमको उदासीनता र विज्ञापनमुखी प्रवृत्तिले जनस्वास्थ्यलाई आवश्यक प्राथमिकता दिन सकिएको छैन। स्वास्थ्यलाई हानि पुर्याउने सामग्री खुलेआम प्रचारप्रसार भइरहे पनि त्यसको नियन्त्रणका लागि प्रभावकारी नीति र संयन्त्र कमजोर छन्। औषधि व्यवस्था विभागले सूचीकरण नगरेका वा प्रतिबन्धित औषधिबारे पर्याप्त जानकारी नहुँदा उपभोक्ता जोखिममा परिरहेका छन्।
शिक्षा प्रणालीमा जीवनोपयोगी स्वास्थ्य शिक्षाको अभाव, स्वास्थ्य, वातावरण र जनसंख्या विषयबीचको कमजोर समन्वय तथा बहुसञ्चार विधिको न्यून प्रयोगले स्वास्थ्य सञ्चार अभियान अपेक्षित प्रभाव दिन असफल भएको विश्लेषण गरिन्छ। समग्रमा, नीति, संरचना र संस्थागत व्यवस्था हुँदाहुँदै पनि प्रभावकारी स्वास्थ्य सञ्चारको अभावले नेपालको जनस्वास्थ्य सुधार यात्रालाई चुनौतीपूर्ण बनाइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे