
काठमाडौं – देशको स्वास्थ्य सेवा सुधारमा विदेशमा रहेका नेपाली समुदाय (डायस्पोरा) सँग सहकार्य गर्न लक्षित गर्दै नेपाल हेल्थ कन्क्लेभ २०२४ आयोजना गरिएको छ। “नेपालको स्वास्थ्य सेवा सुधारमा भुगोलभन्दा पर नेपाली समुदायसँग सहकार्य” भन्ने नारासहित आयोजित यस कन्क्लेभले स्वास्थ्य सेवा सुधारका लागि नयाँ खाका प्रस्तुत गर्ने अपेक्षा राखेको आयोजकहरूले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले स्वास्थ्य सेवामा नयाँ प्रविधि र डायस्पोरा समुदायका रचनात्मक सुझावहरूको महत्त्वलाई विशेष प्राथमिकता दिएको छ। मन्त्री पौडेलले कन्क्लेभलाई सम्बोधन गर्दै देशको स्वास्थ्य क्षेत्र सुधारका लागि विदेशमा रहेका नेपाली समुदायसँगको सहकार्य अपरिहार्य रहेको बताए। उनले डायस्पोरा समुदायका सुझाव र सल्लाहलाई नीति निर्माण र कार्यान्वयनमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा आयोजकहरूले देशमा वा विदेशमा रहेर पनि नेपालका स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान दिन चाहनेहरूलाई आवश्यक वातावरण तयार गर्न कन्क्लेभले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कन्क्लेभमा डायस्पोरा समुदायका रचनात्मक सुझावहरूलाई अमलमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। विशेषतः नयाँ प्रविधि भित्र्याउने र नवप्रवर्तनशील उपायहरू कार्यान्वयन गर्ने विषयमा डायस्पोराको भूमिका सुदृढ गर्नका लागि यो सम्मेलन उपयोगी हुने विश्वास गरिएको छ।
आयोजकका अनुसार, कन्क्लेभले स्वास्थ्य क्षेत्रमा नेपाल निर्माणका लागि विदेशमा बसेर सहकार्य गर्न इच्छुक व्यक्तिहरूलाई सजिलो र प्रभावकारी माध्यम प्रदान गर्ने उपायहरू खोज्ने प्राथमिकता दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे