
काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ। आयोगले मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि मङ्सिर २३ गते अपराह्न ४ः०० बजेसम्म निवेदन पेस गर्न सकिने व्यवस्था तय गरेको छ।
गत आइतबारदेखि आयोगले कान्तिपथस्थित कार्यालयमा समानुपातिक निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। यस प्रणालीका लागि महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ। आयोगले मङ्सिर २४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ।
निवेदन पेस गरिसकेका दलले आगामी पुस १३ र १४ गते बिहान १०ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्न सक्नेछन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी फागुन २१ गते निर्वाचन हुने भएको छ र त्यसका लागि अब ९० दिन बाँकी छ।
प्रत्यक्ष निर्वाचन कार्यक्रमअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र सूची प्रकाशन हुने छ। माघ ७ गते उम्मेदवारीमाथि विरोध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उम्मेदवारको नामावली प्रकाशित हुनेछ भने माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशित भई उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगले माघ ११ गतेका लागि राष्ट्रियसभा निर्वाचनको तयारी पनि गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे