
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२५ अक्टोबरमा प्रकाशित वल्ड इकोनोमिक आउटलुक मा विश्व अर्थतन्त्रको वृद्धि क्रमशः सुस्त हुँदै जाने प्रक्षेपण गरेको छ।अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२४ मा ३.३ प्रतिशत रहेको विश्व आर्थिक वृद्धिदर २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशतमा झर्नेछ। विकसित अर्थतन्त्रहरूको वृद्धि सन् २०२५ मा १.६ प्रतिशत र उदियमान तथा विकासोन्मुख अर्थतन्त्रहरूको वृद्धि ४.२ प्रतिशत रहने अनुमान गरिएको छ। उपभोक्ता मुद्रास्फीति विकसित देशमा २.५ प्रतिशत र विकासोन्मुख देशमा ५.३ प्रतिशत पुग्ने प्रक्षेपण छ।
नेपालको सन्दर्भमा, राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उत्पादक मूल्यमा ४.६१ प्रतिशतले वृद्धि भएको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। कृषि क्षेत्रको उत्पादन ३.२८ प्रतिशतले बढेको छ भने गैरकृषि क्षेत्रको उत्पादन ४.२८ प्रतिशतले विस्तार भएको छ।
मौद्रिक नीति २०८१ ले ५ प्रतिशत वरिपरि राख्ने लक्ष्यसहित सार्वजनिक गरिएको उपभोक्ता मुद्रास्फीति लक्ष्य समीक्षा वर्षमा ४.०६ प्रतिशतमा सीमित रह्यो। अघिल्लो वर्ष मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो। यसैले नेपालमा मूल्य स्थिरता लक्ष्यअनुरूप प्रगति भएको देखिन्छ।
विदेशी व्यापारतर्फ, कुल वस्तु निर्यात ८१.८ प्रतिशतले वृद्धि भई रु.२७७ अर्ब ३ करोड पुगेको छ। यद्यपि, कुल वस्तु आयात पनि १३.३ प्रतिशतले बढेर रु.१८०४ अर्ब १२ करोड पुगेका कारण व्यापार घाटा ६ प्रतिशतले बढेर रु.१५२७ अर्ब ९ करोड पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको २५ प्रतिशत बराबर छ।
चालु खाता रु.४०९ अर्ब २० करोड बचतमा रहेको छ भने शोधनान्तर (Balance of Payments) रु.५९४ अर्ब ५४ करोड बचतमा पुगेको राष्ट्र बैंकले जनाएको छ। विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तसम्म रु.२६७७ अर्ब ६८ करोड कायम छ, जसले १८.२ महिनाको वस्तु तथा १५.४ महिनाको वस्तु–सेवा आयात धान्ने क्षमता राख्छ। अमेरिकी डलरमा सञ्चिति १९ अर्ब ५० करोड पुगेको छ।
नेपाल सरकारको राजस्व संकलन समीक्षा वर्षमा रु.१,१९६ अर्ब १९ करोड पुगेको छ। त्यस्तै, कुल सरकारी खर्च रु.१,५२३ अर्ब ११ करोड भएको राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्तीय क्षेत्रतर्फ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले र निक्षेप १२.६ प्रतिशतले बढेको छ। निजी क्षेत्रलाई कर्जा प्रवाह ८.४ प्रतिशतले मात्र विस्तार भएको छ भने आन्तरिक कर्जा ६.२ प्रतिशतले बढेको छ। ब्याजदरमा भने क्रमिक स्थिरता देखिएको छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.१९ प्रतिशत र कर्जाको औसत ब्याजदर ७.८५ प्रतिशत रहेको छ।
देशभर १०७ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्, जसमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त संस्था र १ पूर्वाधार विकास बैंक छन्। नेप्से सूचकांक २०८२ असार मसान्तमा २७९४.७९ मा उक्लिएको छ भने बजार पुँजीकरण रु.४,६५६ अर्ब ९९ करोड पुगेको छ।
तरलता व्यवस्थापनका क्रममा २०८१/८२ मा कुल रु.२४,६५१ अर्ब ३५ करोड बराबरको तरलता प्रशोचन गरिएको र ओभरनाइट सुविधाबाट २ अर्ब ७० करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।
नोट निष्कासनतर्फ, ९८ अर्ब ७५ करोड बराबरका नयाँ नोट बजारमा पुर्याइएको छ, जबकि कुल चलनचल्ती नोट रु.७ खर्ब ६१ अर्ब ४१ करोड रहेको छ। अहिले राष्ट्र बैंकमा १,१९७ जना कर्मचारी कार्यरत छन्।
समीक्षा अवधिमा भुक्तानी प्रणालीको सुदृढीकरण, कर्जा जोखिम न्यूनीकरण, बैंक खाता रोक्का तथा फुकुवा विनियमावली, सामाजिक बैकिङ मार्गदर्शन, लघुवित्त जोखिम व्यवस्थापन, विदेशी विनिमय लगानी नीति लगायतका महत्वपूर्ण नियामक सुधारहरू कार्यान्वयनमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको कुल सम्पत्ति २०८१/८२ को अन्त्यसम्म २९.२३ प्रतिशतले बढेर रु.२६ खर्ब ७१ अर्ब २३ करोड पुगेको छ। बैंकको वार्षिक नाफामध्ये रु.४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय सञ्चालक समितिले गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे