
काठमाडौँ । देशको समष्टिगत आर्थिक सूचकहरूमा हाल सकारात्मक संकेत देखिएका छन् । वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ३.६२ प्रतिशतमा सीमित रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति ३४१३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यो सञ्चिति २३ अर्ब ८ करोड बराबर रहेको छ, जुन करिब १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त मानिएको छ ।
चालु खाता ५५२ अर्ब ८५ करोड रुपैयाँ र शोधनान्तर स्थिति ६५८ अर्ब ३५ करोड रुपैयाँ बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि देखिएको छ, जसअनुसार नेपाली रुपैयाँमा ३७.७ प्रतिशत र अमेरिकी डलरमा ३१ प्रतिशतले वृद्धि भई चालु आर्थिक वर्षको फागुन महिनासम्म १८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । निर्यात २०.८ प्रतिशतले बढेको छ भने आयात पनि १२.५ प्रतिशतले विस्तार भएको छ ।
सरकारी वित्तीय व्यवस्थापनतर्फ नेपाल सरकारको कुल खर्च ९२६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन ७४७ अर्ब २८ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ६.७ प्रतिशतले बढेको छ भने वार्षिक आधारमा १४.५ प्रतिशतको वृद्धि देखिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६.६ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले वृद्धि भएको छ । वार्षिक विन्दुगत आधारमा निक्षेप वृद्धिदर १५.१ प्रतिशत र कर्जा वृद्धिदर ६.७ प्रतिशत रहेको छ । यसैगरी अन्तरबैंक दर २.६८ प्रतिशत र ९१ दिन अवधिको कोषपत्रको ब्याजदर २.४७ प्रतिशत कायम रहेको छ । वाणिज्य बैंकहरूको निक्षेपमा औसत ब्याजदर ३.४५ प्रतिशत र कर्जामा ६.९० प्रतिशत रहेको देखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे